arrow

नेपाल एथलेटिक्स संघमा विवाद: महासचिवसहितका सदस्यद्वारा अदालतमा मुद्दा दायर, निर्वाचन रोक्न माग

logo
हाम्रा कुरा
प्रकाशित २०८२ साउन १२ सोमबार
athletic-bibad.jpg

काठमाडौं। नेपाली खेलकुदमा लामो समयदेखि चल्दै आएको विवाद अब नेपाल एथलेटिक्स संघभित्र पनि सार्वजनिक भएको छ। नेपाली खेलकुदमा एकै प्रकृतिका खेलका समानान्तर दुई संघहरू दशकौँदेखि चलिरहँदा सधैँ विवाद हुने गरेको छ। यस्तो विवाद अहिले एथलेटिक्स संघमा पनि सुरु भएको हो। एथलेटिक्स संघभित्र लामो समयदेखि नै आन्तरिक रूपमा पक्ष र विपक्षका रूपमा विवाद भइरहेको भए पनि आइतबार संघका महासचिव धनवीर चौधरी र केही सदस्यहरूले पत्रकार सम्मेलन गर्दै नेपाल एथलेटिक्स संघ, तदर्थ कमिटीका संयोजक राजीव विक्रम शाह लगायत केही पदाधिकारी अवैधानिक बाटोमा हिँडेको आरोप लगाएका छन्।

महासचिव चौधरीसहित ११ सदस्यले अर्को पक्षविरुद्ध अदालतमा मुद्दा पनि दायर गरेका छन्। उनीहरूले संघको निर्वाचन रोक्न उच्च अदालत पाटनमा रिट दायर गरेका हुन्।

यसअघि नै राष्ट्रिय खेलकुद परिषद् (राखेप) को बोर्ड बैठकमा युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले विरोधका बाबजुद ६ वटा संघ विघटन गरी तदर्थ कमिटी बनाएका थिए। मन्त्री चौधरीले लामो समयदेखि निर्वाचन नगरी बसेका केही संघहरू (लन टेनिस, भारोत्तोलन, साइक्लिङ संघ, जिम्न्यास्टिक, एथलेटिक्स) र नेपाल ब्याडमिन्टन संघले निर्वाचन गरिसकेको अवस्थामा पनि राजनीतिक पूर्वाग्रहको आधारमा विघटन गरेका थिए। २०८० साल जेठ ३० गते यी संघका तदर्थ कमिटीलाई तीन महिनाभित्र निर्वाचन गराउन समयसीमा दिइएको थियो। तीमध्ये एक राजीव विक्रम शाहको नेतृत्वमा रहेको नेपाल एथलेटिक्स संघ तदर्थ कमिटीलाई पनि उक्त जिम्मेवारी दिइएको थियो।

शाह आफैँले नै वर्षौँदेखि निर्वाचन नगराए पनि मन्त्री चौधरीले उनलाई नै तदर्थ कमिटीको जिम्मेवारी दिएका थिए। तर, अहिले संघका बहुमत सदस्यहरूले राजीव विक्रम शाह संयोजक रहेको संघको निर्वाचन रोक्न माग गरेका हुन्। संघले साउन १४ गते निर्वाचनको तयारी गरिरहेको छ।

गठित तदर्थ समितिका सदस्यहरूले आइतबार उच्च अदालतको अन्तिम फैसला नआएसम्म निर्वाचन स्थगित गर्नुपर्ने मागसहित पत्रकार सम्मेलन गरेका थिए। शाह संयोजक रहेको एथलेटिक्स संघ तदर्थ कमिटीले राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ तथा राष्ट्रिय खेलकुद विकास नियमावली, २०७९ अनुसार गर्नुपर्नेमा कानुनविपरीत राखेपबाट स्वीकृत नै नगराई गैरकानुनी विधानको आधारमा विभिन्न जिल्ला र प्रदेशका पदाधिकारीहरूलाई भ्रम र प्रलोभनमा पारी अवैध कमिटी गठन गर्दै हिँडिरहेको आरोप उनीहरूले लगाएका छन्।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले पनि सबै प्रक्रिया पूरा गरेर मात्र निर्वाचन गराउन भन्दै आइतबार शाह नेतृत्वको तदर्थ कमिटीलाई पत्र काटेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ