चितवनको ऐतिहासिक उपन्यास ‘बखान’ साउन अन्तिमसम्म बजारमा आउँदै
हाम्रा कुरा
प्रकाशित २०८२ साउन १२ सोमबार
732
Shares
चितवन । चितवनको ऐतिहासिक पृष्ठभूमि र तत्कालीन राजनीतिक सङ्घर्षलाई समेटेर पत्रकार वसन्त पराजुलीले लेखेको उपन्यास ‘बखान’ यसै साउन महिनाको अन्तिमसम्म बजारमा आउने भएको छ। शिखा बुक्सद्वारा प्रकाशित हुन लागेको यो उपन्यास बखानसिंह गुरुङको जीवन यात्रामा केन्द्रित छ।
बखानसिंह गुरुङ ती वीर पात्र हुन् जसले तत्कालीन राणाशासन र पञ्चायतका विरुद्ध आफ्ना दुई छोरा गुमाएका थिए। विसं २००७ को बन्दीपुर कब्जा गर्दा उनले छोरा धर्मध्वज गुरुङ गुमाए भने विसं २०१८ को भरतपुर काण्डमा दोस्रो छोरा लालध्वज गुरुङ पनि गुमाएका थिए। तनहुँको पुलिमराङमा जन्मिएका बखानसिंहले चितवनको बस्ती विकासमा उल्लेखनीय भूमिका निर्वाह गरेका थिए।
शिखा बुक्सका प्रबन्ध निर्देशक पुष्पराज पौडेलले साउन अन्तिमसम्म उपन्यास बजारमा ल्याउने तयारी भइरहेको जानकारी दिए। उपन्यासमा विसं २०१३ मा सहकारी संस्था स्थापना गरेका बखानसिंह र उनको परिवारमाथि राज्यपक्षबाट भएका ज्यादती तथा बखानसिंहले गरेका सङ्घर्षलाई समेट्ने प्रयास गरिएको छ।
लेखक पराजुलीका अनुसार, चितवनमा बस्ती विकासको विषयसँगै तत्कालीन राजा महेन्द्रको निधन, चितवन राष्ट्रिय निकुञ्जमा सिकार गरेको इतिहासलाई पनि उपन्यासमा मुख्य विषयवस्तु बनाइएको छ। यसका साथै, मायाप्रेम, राजनीतिक उतारचढाव, सामाजिक परम्परा, गुरुङ समुदायमा प्रचलित रोदी परम्परा, बसाइँसराइलगायतका विषयलाई पनि औपन्यासिक रूप दिइएको छ। पाठकहरूले उपन्यासमा मलेरियासँग कसरी जोगिएर चितवनलाई बचाए भन्ने कुरा पनि पढ्न पाउनेछन्।
उपन्यासमा चितवनका आदिवासी थारु समुदायको संस्कृति र वेषभूषाका बारेमासमेत चर्चा गरिएको छ। ‘कुमाता’, ‘मोम्चो’, ‘ड्रिमि आइज’ जस्ता कथासङ्ग्रहमार्फत पाठकमाझ पहिचान बनाएका पत्रकार पराजुली नेपाल पत्रकार महासङ्घ चितवनका अध्यक्षसमेत हुन्। यो उपन्यास पराजुलीको पहिलो औपन्यासिक आख्यान हो।