सत्याग्रहमा दिक्तेलका मेयर: भन्छन्- 'पाँच वर्षपछि बाँदर, नीलगाईले मतदान गर्ने अवस्था नआओस्' [भिडियो]
स्थानीय कच्चा पदार्थको उपयोग बढाउँदै आयातित सामग्रीको न्यूनीकरण गर्न माग
हाम्रा कुरा
प्रकाशित २०८२ साउन १२ सोमबार
534
Shares
काठमाडौं । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराईले स्थानीय कच्चा पदार्थको उपयोग बढाउँदै आयातित सामग्रीको न्यूनीकरण गर्न माग गर्दै आइतबारदेखि काठमाडौंको माइतीघर मण्डलामा सत्याग्रह सुरु गरेका छन्। उनले सङ्घीय सरकारले स्थानीय तहका मागहरूलाई बेवास्ता गरेको भन्दै आन्दोलनमा उत्रिएको बताए।
मेयर भट्टराईले स्थानीय कच्चा पदार्थ प्रयोग गर्न सङ्घीय ऐन बाधक बनेको र पटक–पटकको लिखित तथा मौखिक अनुरोधलाई बेवास्ता गरिएपछि आफू सात बुँदे मागसहित सत्याग्रहमा बस्न बाध्य भएको स्पष्ट पारे।
भट्टराईका अनुसार, स्थानीय स्रोत र सामग्री प्रयोग गर्नका लागि स्थानीय सरकार र प्रदेश सरकारले कानुन बनाउन सक्ने अवस्था छैन। गाउँघरमा खेर गएका कच्चा पदार्थ प्रयोग गर्न सकेमा आयातित सामग्रीलाई न्यूनीकरण गर्न सकिने, स्थानीयलाई रोजगारी दिन सकिने र वातावरण तथा पर्यावरणमैत्री नगरपालिका, गाउँपालिका, वडा कार्यालयहरू बनाउन सकिने उनको भनाइ छ। उनले नगरपालिकाले बाँसको प्रवर्द्धनमा जोड दिइरहेको भए पनि कानुनको अभावमा कच्चा पदार्थ प्रयोग गर्न नसकिएको गुनासो गरे।
मेयर भट्टराईले गाउँघरमा बाँदर, बँदेल र नीलगाईको समस्या विकराल बन्दै गएको र यसले नागरिकहरू बसाइँ सर्ने क्रम बढेको बताए। उनले व्यङ्ग्यात्मक शैलीमा भने, "अबको पाँच वर्षपछि कुनैपनि पार्टीबाट उम्मेदवार हुँदा पनि बाँदरले मतदान, बँदेलले, नील गाईले मतदान गर्नुपर्ने अवस्था भइरहेको छ। यसलाई सरकारले सुन्ने कि नसुन्ने?"
उनले प्लास्टिकजन्य वस्तुको व्यवस्थापन उत्पादन गर्नेले नै गर्नुपर्ने र यदि त्यो गर्न नसके प्रत्येक स्थानीय तहमा १० प्रतिशत रकम अतिरिक्त रकम उपलब्ध गराउनुपर्ने माग पनि राखेका छन्।
भट्टराईले "भुइँमान्छेको आवाज सरकारले नसुनेपछि सङ्घ सरकारको आँगनमा आन्दोलन गरिएको" बताए।