स्वास्थ्य क्षेत्रमा थप सुधार र लगानी आवश्यक: स्वास्थ्यमन्त्री पौडेल [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८२ साउन १२ सोमबार
620
Shares
काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले नेपालको स्वास्थ्य क्षेत्रमा अझै धेरै सुधारहरू गर्नुपर्ने आवश्यकता रहेको बताएका छन्। वीर अस्पतालको १३६औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।
मन्त्री पौडेलले स्वास्थ्य क्षेत्रमा केही सुधार भए पनि पूर्ण रूपमा सुधार हुन नसकेको स्वीकार गरे। उनले आम नागरिकको स्वास्थ्य सेवा प्राप्त गर्ने आकांक्षालाई सरकारले पूरा गर्नुपर्नेमा जोड दिए। सहज ढंगबाट स्वास्थ्य सेवा उपलब्ध गराउने गरी स्वास्थ्य संस्थाहरूको पूर्ण विकास गर्न नसकिएको स्वीकार गर्दै उनले यसका लागि थप लगानी जरुरी रहेको औंल्याए। स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रबाट राज्य पन्छिन नमिल्ने उनको भनाइ थियो।
मन्त्री पौडेलले भने, "नेपालको स्वास्थ्य क्षेत्रमा धेरै सुधारहरू गर्न जरुरी छ। पूर्णतातर्फ लिएर जान जरुरी छ। स्वास्थ्य क्षेत्रमा सुधार नभएको होइन तर पूर्ण रूपमा सुधार हुन सकेको छैन। यो कुरालाई हामीले स्वीकार गर्नुपर्छ। हाम्राबारेमा प्रशस्त टिकाटिप्पणी भइरहेको छ। आम नागरिकको स्वास्थ्य सेवा प्राप्त गर्ने लालसा, सरकारले त्यो सेवा उपलब्ध गराइदिनुपर्छ भन्ने मान्यता स्वभाविक छ।"
उनले थपे, "त्यो स्वभाविक मान्यताको आधारमा नेपालको संवैधानिक व्यवस्थाका आधारमा, हामीले बारम्बार व्यक्त गरेका प्रतिबद्धताका आधारमा हामीले आम नागरिकलाई सहज ढंगबाट स्वास्थ्य सेवा उपलब्ध गराउने गरी स्वास्थ्य संस्थाहरूको विकास पूर्ण ढंगबाट गर्न सकिरहेका छैनौँ। पूर्ण ढंगबाट स्वास्थ्य संस्थाहरूको विकास गर्न हामीले थप लगानी गर्न जरुरी छ। स्वास्थ्य यस्तो संवेदनशील क्षेत्र हो त्यसबाट राज्य पन्छिन सक्दैन।"
मन्त्री पौडेलले अस्पताल सुधारका लागि योजनाबद्ध भएर काम गर्नुपर्ने बताए। उनले आवश्यक स्वास्थ्य जनशक्ति मन्त्रालयले उपलब्ध गराउने प्रतिबद्धता पनि व्यक्त गरे।