काठमाडौँ । युरोपेली आयोगले जर्मनीको रासायनिक पदार्थ उत्पादन गर्ने कम्पनी ‘कोभेस्ट्रो’लाई संयुक्त अरब इमिरेट्स (युएई) को सरकारी तेल कम्पनीले खरिद गरेको विषयमा छानबिन सुरु गरेको छ।
आयोगले युएईले दिएको आर्थिक सहयोगका कारण युरोपको भित्री बजारमा असमान प्रतिस्पर्धा हुन सक्ने प्रारम्भिक चिन्ता व्यक्त गरेको छ। कोभेस्ट्रोले गत वर्ष अबुधाबी राष्ट्रिय तेल कम्पनीबाट करिब १२ अर्ब युरोको प्रस्ताव स्वीकार गरेको थियो।
जर्मनीको रासायनिक उद्योग अहिले संकटमा छ। यो उद्योगले देशको कुल आन्तरिक उत्पादनको झन्डै पाँच प्रतिशत हिस्सा ओगटेको छ। ऊर्जा लागत महँगो भएको र माग घटेका कारण उत्पादनमा भारी गिरावट आएको छ।
युरोपेली आयोगले युएईबाट आएको आर्थिक सहायता प्रयोग गरी कोभेस्ट्रो खरिद गरिएको हो कि होइन भनेर छानबिन गरिरहेको छ। यदि त्यस्तो पुष्टि भएमा, यसले अन्य युरोपेली कम्पनीहरूलाई असर गर्न सक्ने आयोगको चिन्ता छ।
अबुधाबीको तेल कम्पनीले कोभेस्ट्रोमा नयाँ सेयर जारी गरेर करिब १ अर्ब २० करोड युरो लगानी गर्ने योजना ल्याएको छ।
कोभेस्ट्रोले निर्माण सामग्रीदेखि लिएर विद्युतीय सवारीसाधनमा प्रयोग हुने रासायनिक वस्तुहरू उत्पादन गर्दछ। कम्पनीले यसअघि नै खर्च घटाउने योजना ल्याउँदै वार्षिक ४०० मिलियन युरो जोगाउने लक्ष्य राखेको थियो।
कोभेस्ट्रो सन् २०१५ मा जर्मनीको ठूलो कम्पनी बायरबाट अलग भएर स्वतन्त्र भएको थियो।