एनएमबि बैङ्कद्वारा माथिल्लो सार्दी खोला जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन
हाम्रा कुरा
प्रकाशित २०८२ साउन १३ मंगलबार
333
Shares
काठमाडौँ। एनएमबि बैङ्क लिमिटेड तथा मन्दाकिनी हाइड्रोपावर लिमिटेडबीच २.९ मेगावाट क्षमताको कास्की जिल्ला, माछापुच्छ्रे गाउँपालिकामा अवस्थित माथिल्लो सार्दी खोला जलविद्युत आयोजनामा ऋण लगानी गर्न वित्तीय व्यवस्थापन भएको छ। यस आयोजनामा एनएमबि बैङ्क लिमिटेडको एकल ऋण लगानी रहेको छ। २.९ मेगावाट क्षमता रहेको माथिल्लो सार्दी खोला जलविद्युत आयोजनाको करिब लागत रु. ६६ करोड १८ लाख ९४ हजार रहने जानकारी गराइएको छ भने बैङ्कको ऋण लगानी रु. ४६ करोड ३३ लाख २५ हजार रहनेछ।
एनएमबि बैङ्क लिमिटेडका प्रमुख कार्यकारी अधिकृत गोविन्द घिमिरेले प्रस्तावित आयोजना निर्धारित लागत तथा समयमानै सम्पन्न गर्न मन्दाकिनी हाइड्रोपावर लिमिटेडलाई आग्रह गरेकोमा उक्त कम्पनीका अध्यक्ष शरद कुमार दाहालले वित्तीय व्यवस्थापनमा सहयोग गर्नु भएकोमा एनएमबि बैङ्क लिमिटेडलाई धन्यवाद ज्ञापन गर्नुका साथै, माथिल्लो सार्दी खोला जलविद्युत आयोजना निर्धारित लागत तथा समय सीमामा नै सम्पन्न गर्ने विचार व्यक्त गरेका छन्। यसका लागि स्थानीय सरकारसँग सहकार्य गरेर आयोजना अगाडि बढाउने प्रतिबद्धता व्यक्त समेत गरे।
त्यसै गरी, मन्दाकिनी हाइड्रोपावर लिमिटेडद्वारा कास्की जिल्ला माछापुच्छ्रे गाउँपालिकामा प्रवर्द्धित ४ मेगावाट क्षमता रहेको सार्दी खोला जलविद्युत आयोजनाले विसं २०७४ साल मङ्सिर २३ गतेदेखि व्यावसायिक उत्पादन सुचारु भई रहेको र उक्त आयोजनामा समेत एनएमबि बैङ्क लिमिटेडको अगुवाइमा सहवित्तीयकरण अन्तर्गत ऋण लगानी भइरहेको जानकारी दिए।
नेपाल राष्ट्र बैङ्कबाट जारी वातावरणीय तथा सामाजिक जोखिम व्यवस्थापन, २०२२को निर्देशन अनुसार एनएमबि बैङ्कले वातावरणीय तथा सामाजिक नीति तयार पारी सो बमोजिम आयोजनाको पर्यावरण संरचना तथा सामाजिक जोखिम व्यवस्थापन गर्नको लागि बैङ्कले पर्यावरण तथा सामाजिक व्यवस्थापन प्रणाली लागु गरिसकेको छ।
एनएमबि बैङ्कले हाल देश भरी २०२ शाखाहरू, १८७ एटिएमहरू र ९ एक्सटेन्सन काउन्टरहरू मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ।