arrow

पूर्वी पहाडी जिल्लामा लाखेजात्रा शुरू

logo
हाम्रा कुरा
प्रकाशित २०८२ साउन १३ मंगलबार
lakhe-naach-sankhuwasabha.jpg

सङ्खुवासभा । नागपञ्चमीका दिनदेखि नेवार समुदायको बाहुल्यता रहेको पूर्वका ओखलढुङ्गा, खोटाङ, सङ्खुवासभा, भोजपुर, धनकुटा, तेह्रथुम, ताप्लेजुङलगायतका जिल्लामा लाखेनाच शुरू भएको छ ।

सङ्खुवासभाको खाँदबारी नगरापलिका-१ मा रहेको भीमसेन मन्दिरमा पूजाआजा गरी विधिवत् रूपमा लाखेजात्रा शुरू गरिएको छ । नेवार संस्कृति र परम्पराअनुसार भीमसेन मन्दिरमा पूजाआजा र सगुन खुवाएर नागपञ्चमीबाट लाखे निकालिन्छ ।

नेवाःदेयदवू नगर कार्य समिति खाँदबारीको संयोजनमा नागपञ्चमीका दिनदेखि शुरू भएको लाखेनाच कृष्ण जन्माष्टमीसम्म हरेक दिन बजार परिक्रमा गराउँदै प्रदर्शन गरिन्छ ।

नेवार समुदायको कुलदेवता भीमसेनको पूजासँगै ढोल, ढोलकी, भ्याम्टा, मुकुन्डो, लाखेले लगाउने कपडालगायत सामग्रीहरूको पूजा गरी खाँदबारीलगायतका बजारमा लाखेनाच शुरू गरिएको नेवाःदेयदवू नगरकार्य समिति खाँदबारीका अध्यक्ष पुष्पबहादुर श्रेष्ठले बताए।

उपत्यका तीन सहर काठमाडौँ, भक्तपुर र ललितपुर मुख्य थलो बनाएका नेवारी समुदाय मुलुकका विभिन्न स्थानमा बसोबास गर्दै आएका छन् ।

पूर्वमा हेर्दा धनकुटा बजार, भोजपुरको टक्सार बजार र सङ्खुवासभाको चैनपुर, खाँदबारी, वाना, सिभुवाका बजारमा नेवार समुदायको बसोबास छ ।

लाखेनाचका क्रममा स्थानीय लोकभाका, वेशभूषा र चालचलन एवं रोपाइँजात्रा, घोडेजात्रा, गाईजात्रा र अन्य जात्रा देखाउँदै समाजका विभिन्न विकृतिमाथि व्यङ्ग्य गर्ने अनि सर्वसाधारणलाई मनोरञ्जन दिने गरिन्छ ।

भीससेन मन्दिरबाट विधिवत् रूपमा सुरु भएको लाखेले खाँदबारी बजार परिक्रम गरेको छ ।

द्वापर युगमा भगवान् श्रीकृष्ण र उनका मामा कंशबीचको लडाइँको झल्को दिनेगरी विभिन्न गतिविधि गर्दै जिल्लामा नेवार समुदाय भएका बजार क्षेत्रमा लाखेनाच निकाल्ने चलन छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ