arrow

चितवनमा स्क्रब टाइफस सङ्क्रमण बढ्दो: एक वर्षमा हजार बढी सङ्क्रमित, एकको मृत्यु

स्क्रब टाइफस के हो र यसबाट कसरी बच्ने?

logo
हाम्रा कुरा
प्रकाशित २०८२ साउन १५ बिहिबार
Chitwan-hamrakura.jpg.jpeg

नारायणगढ । चितवनमा स्क्रब टाइफस सङ्क्रमणको अवस्था चिन्ताजनक देखिएको छ। जिल्ला जनस्वास्थ्य कार्यालय, चितवनले सार्वजनिक गरेको तथ्याङ्कअनुसार गत आर्थिक वर्षमा परीक्षण गरिएका बिरामीमध्ये १ हजार ५५ जनामा स्क्रब टाइफस सङ्क्रमण पुष्टि भएको छ, जसमध्ये एक जनाको मृत्यु भएको छ।

सङ्क्रमितमध्ये ३९५ पुरुष र ६६० महिला छन्। भरतपुर महानगरपालिकामा ८० पुरुष र १३४ महिला, खैरहनी नगरपालिकामा २२ पुरुष र ४८ महिला, माडी नगरपालिकामा छ पुरुष र पाँच महिला, रत्ननगरमा ५३ पुरुष र ७७ महिला, राप्तीमा २४ पुरुष र ३३ महिला, कालिका नगरपालिकामा २२ पुरुष र ३१ महिला र इच्छाकामना गाउँपालिकामा १० पुरुष र १४ महिला सङ्क्रमित देखिएका छन्।

यीबाहेक, अन्य जिल्लाबाट चितवनमा उपचारका लागि आएका बिरामीमध्ये १७८ पुरुष र ३१८ महिलामा पनि सङ्क्रमण देखिएको छ। गत आर्थिक वर्षमा कुल ७ हजार ९५ जनाको स्क्रब टाइफस परीक्षण गरिएको थियो।

जनस्वास्थ्य कार्यालय चितवनका भेक्टर कन्ट्रोल निरीक्षक राम केसीले जानकारी दिएअनुसार, यही साउन महिनामा मात्रै ४७८ जनाको परीक्षण गर्दा ३० जनामा सङ्क्रमण पुष्टि भएको छ। वर्षायाममा यो रोगको सङ्क्रमण बढी हुने गरेको र पानी परेपछि मुसाहरू घर, गोठ वा ओबानो ठाउँमा पस्दा तिनको शरीरमा रहेका किर्ना मानिसलाई टोकेर सङ्क्रमण सर्ने सम्भावना बढी हुने उनले बताए।

सङ्क्रमणको इतिहास र वृद्धि

चितवनमा स्क्रब टाइफसको पहिलो रिपोर्टिङ वि.सं. २०७२ मा भएको थियो। भेक्टर कन्ट्रोल निरीक्षक केसीका अनुसार, परीक्षणको दायरा विस्तार हुँदै जाँदा सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ:

आर्थिक वर्ष २०७६/७७: १,५१६ जनाको परीक्षण गर्दा १२७ जनामा सङ्क्रमण।

आर्थिक वर्ष २०७७/७८: २,२९० जनामध्ये ३१८ जनामा सङ्क्रमण।

आर्थिक वर्ष २०७८/७९: ३,२८६ परीक्षणमध्ये २६८ जनामा सङ्क्रमण।

आर्थिक वर्ष २०७९/८०: ३,४६१ जनाको परीक्षणमा ५०३ जनामा सङ्क्रमण।

गत आर्थिक वर्ष: ७,०९५ जनाको परीक्षणमा १,०५५ जनामा सङ्क्रमण।

अघिल्लो आर्थिक वर्ष (२०८०/८१) मा जिल्लाका विभिन्न अस्पतालमा उपचार गरिएका ३ हजार ८ सय जनाको परीक्षणमा ५५२ जनामा स्क्रब टाइफस सङ्क्रमण देखिएको थियो। यस वर्ष यो संख्या उल्लेखनीय रूपमा बढेको छ।

स्क्रब टाइफस के हो र यसबाट कसरी बच्ने?

स्क्रब टाइफस ओरेन्टिया सुसुगामुशी नामक जीवाणुबाट लाग्ने एक प्रकारको सरुवा रोग हो, जुन मुसामा पाइने माइट (किर्नाजस्तो देखिने कीरा) को टोकाइबाट मानिसमा सर्छ। यो रोग मानिसबाट मानिसमा सर्दैन। माइट प्रायः झाडी, खेतबारी, वनजङ्गल, वा घर वरिपरिको फोहोर क्षेत्रमा पाइन्छ।

भेक्टर कन्ट्रोल निरीक्षक केसीले रोग नियन्त्रणका लागि निम्न सुझावहरू दिएका छन्:

खेतबारी, वनजङ्गल वा घाँस काट्न जाँदा पूरै शरीर ढाक्ने कपडा लगाउने।

सकेसम्म जुत्ता प्रयोग गर्ने।

घाँसबारी वा चउरमा गुन्द्री वा दरी ओछ्याएर मात्र बस्ने तथा भुइँमा सुत्न वा बस्न नहुने।

मुसा नियन्त्रणका लागि अन्न भण्डारण सही ढङ्गले गर्ने।

सरसफाइमा विशेष ध्यान दिने।

झाडी क्षेत्रबाट बच्ने।

स्क्रब टाइफसका मुख्य लक्षणहरूमा:

उच्च ज्वरो (१०४ डिग्री फरेनहाइटभन्दा बढी)

अत्यधिक पसिना आउने

आँखा रातो हुने

झाडापखाला लाग्ने

शरीरका मुख्य अङ्गहरू प्रभावित हुने

कीराले टोकेको स्थानमा रातो दाग देखिने र पछि कालो दाग बस्न सक्ने।

लक्षण देखिएमा तुरुन्त स्वास्थ्य संस्थामा सम्पर्क गरी उपचार गर्न भेक्टर कन्ट्रोल निरीक्षक केसीले आग्रह गरेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ