काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलको मूल्य घटाएको छ । यता डिजेल र मट्टितेलको मूल्य भने बढाएको छ ।
निगमले साउन १५ गते साँझ एक विज्ञप्ति जारी गर्दै आज मध्यरात १२ बजेदेखि लागू हुने गरी पेट्रोलको मूल्य प्रतिलिटर रु १ ले घटाएको हो । योसँगै पेट्रोलको नयाँ मूल्य प्रतिलिटर रु १५९ कायम भएको छ ।
तर, डिजेल र मट्टितेलको मूल्य भने प्रतिलिटर रु २ ले बढाइएको छ, जसले गर्दा अब यी दुई पदार्थको नयाँ मूल्य प्रतिलिटर रु १५० पुगेको छ ।
हवाई इन्धनतर्फ पनि मूल्य वृद्धि गरिएको छ । आन्तरिक उडानका लागि प्रयोग हुने हवाई इन्धनको मूल्य प्रतिलिटर रु ३ ले बढेर रु १२८ पुगेको छ भने अन्तरराष्ट्रियतर्फ अमेरिकी डलर २१ ले वृद्धि भएको छ । खाना पकाउने एलपी ग्यासको मूल्यमा भने कुनै परिवर्तन गरिएको छैन ।
पेट्रोलको मूल्य घट्दा सर्वसाधारणलाई केही राहत मिले पनि डिजेल र मट्टितेलको मूल्य वृद्धिले ढुवानी, यातायात र दैनिक उपभोग्य वस्तुको मूल्यमा असर पर्न सक्ने देखिएको छ ।