काठमाडौँ । पलेशा गोबर्धनले दशौँ एसियाली पारा तेक्वान्दो च्याम्पियनशिप (जी–४) मा शुक्रबार कास्यपदक जितेकी छिन् ।
मलेसियाको कुचिङमा भएको प्रतियोगितामा पेरिस पारालिम्पिककी ऐतिहासिक कास्य विजेता पलेशाले के–४४ क्याटगोरीअन्तर्गत महिला ५७ केजीमुनि उज्वेकिस्तानकी जुरेवा कमोलालाई पराजित गरी कास्य जितेको प्रशिक्षक कविराज नेगी लामाले जनाएका छन् ।
चीनको सांघाईमा अध्ययन गरिरहेकी पलेशा त्यत्तैबाट प्रतियोगितामा सहभागी हुन मलेसिया पुगेकी थिइन् । जुलाइ २४ देखि अगष्ट १ तारिखसम्म भएको प्रतियोगितामा पलेशासहित ५ नेपाली खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।
पुरुष ५८ केजीमुनि भरतसिंह महता तथा ६३ केजीमुनि अमिर भ्लोन तथा महिला ४७ केजीमुनि कामना प्रसाईं र रेणु तामाङले प्रतिस्पर्धा गरेका थिए । टोलीको व्यवस्थापकमा राष्ट्रिय खेलकुद परिषद्का सदस्य रामचन्द्र श्रेष्ठ रहेका छन् ।