कानून नीति नियममात्र नभएर धर्म संस्कृति र परम्परासँग पनि नजिक रहनु पर्दछ। कुनै पनि राज्य त्यतिबेला बलियो देखिन्छ जहाँ कानून भन्दा जनता सचेत, स्वावलम्बी र अनुशासित छन् ।
कानून त अन्तिम उपाय हो । त्यो भन्दा पहिला मानव, मानवता, मानवीय धर्म राष्ट्रिय र अन्तर्राष्ट्रिय मान्यता रहन्छन् । कानून भन्दा माथि कोही हुँदैन तर मानवताको अगाडि कानून पनि निरीह रहन्छ ।
मानव स्वभावैले अति संवेदनशील र विवेकशील प्राणी हो । ऊ आफ्नो अधिकार सुरक्षित गर्दै सम्पूर्ण प्राणी वनस्पतिको सहअस्तित्व स्वीकार गर्छ । सबै नीति नियम प्राकृतिक व्यवहारिक र वैज्ञानिक बनाउनु नै मानव क्षमताको सही सदुपयोग हुनु हो ।
प्राचीन ग्रीसबाट मानवीय सभ्यता शुरू भएसँगै समाज मानव जीवन सभ्यता र अनुशासनको युगमा प्रवेश गर्यो । पश्चिमी युरोपबाट विकसित मानव सभ्यतासँगै लैंगिक समानता र समान अस्तित्वको आन्दोलन हुँदै एकाइसौँ शताब्दीको उपलब्धिको रुपमा ग्रहण गरिएको छ।
समानता र समान अस्तित्वको कुरा गर्दा नेपाली धर्म, संस्कृति र मान्यता अन्य समाज भन्दा केही फरक छ । संविधानत धर्मनिरपेक्ष मुलुक रहेता पनि हिन्दू सनातन संस्कृतिसँग हामी बढी नजिक छौँ ।
हामीले समानताको कुरा त गर्छौं तर त्यो समानता विवेक, विचार र सर्वाङ्गिण विकास नभएर वस्त्र विशेष, खानपिन विशेष र अस्वभाविक स्वतन्त्रता विशेष गएर जोडियो ।
स्वतन्त्रता के को लागि ? अझ कर्तव्य र अनुशासन भन्दा परको स्वतन्त्रता के को लागि ? स्वतन्त्र हुनुको मतलब स्वभालम्बी हुनु, आत्मनिर्भर रहनु, विवेकशील हुनु र स्वस्थ्य र कर्तव्यनिष्ट हुनु हो वा सामाजिक र धार्मिक मान्यता विपरीत सस्तो समानताको अर्थ खोज्नु ?
हामी महिला अधिकारको कुरा गर्दा नेपालको महिला आन्दोलन र यसका उपलब्धिसँग टाढा रहन सक्दैनौँ । मंगलादेवी सिंह नेपाली महिला आन्दोलनको उज्यालो नक्षत्र हो। उहाँले महिला सशक्तिकरणको लागि राणा शासनसँग लड्दा आजको महिला अधिकार र प्राप्ति सपनाको संसारमात्र थियो ।
मंगलादेवी सिंहको नारी संघर्षका पाइलाहरू भन्ने पुस्तकमा यो कुरा उल्लेख गरिएको छ: ‘ महिला संघ किन खोल्ने ? यो प्रश्नको जवाफ मसँग थियो । महिलाहरुलाई पनि शिक्षित र प्रशिक्षित बनाउनु पर्छ र त्यसबाट प्राप्त चेतनाले समाजलाई परिवर्तन गर्नुपर्दछ ।’ यो वाक्यांश को तात्पर्य सकारात्मक परिवर्तन जसबाट सामाजिक विकासमा टेवा पुगोस् ।
भर्खरै विकसित बहुविवाह सम्बन्धी कानूनले मेरो पनि ध्यानाकर्षण गरायो । आजको सामाजिक विकास, समानताको विश्वव्यापी धारणा र नेपाली महिला आन्दोलन र प्राप्तिलाई सूक्ष्म अध्ययन गर्दा समानताको पर्यायवाची मानवता हो । मानवताको गहिराई अनुशासन हो । नीति नियम त गलत गर्नेहरुका लागि हो । जब मानिस सचेत छ अनुशासन कर्तव्य र कर्ममा विश्वस्त छ उसलाई कानून नै चाहिँदैन ।
जुन व्यक्ति समाज, संस्कार अनुशासन र सामाजिक मान्यतालाई बन्धन ठान्छ उसलाई कानूनले मात्र पनि केही गर्दैन । जस्तै: बेलायतमा लिखित संविधान छैन जहाँ मानवता, अनुशासन र कर्तव्यसँगै विश्वकै विकसित देशमा परिचित छ । हाम्रोमा लिखित संविधानका धारा उपधाराको संख्या उल्लेखनीय छ तर हत्या, हिंसा, बलात्कार र सामाजिक विकृतिले जरो गाडेको छ।
विवाह एक सामाजिक, आध्यात्मिक, प्राकृतिक र जीवनचक्रको विश्वव्यापी मान्यता प्राप्त मानव जीवनको अभिन्न अंग र दुई मनको भावनात्मक संगम स्थल हो । अझ नेपाली समाजमा यसको छुट्टै सांस्कृतिक र धार्मिक व्यख्या छ।
यो एउटा अति संवेदनशील र जिम्मेवारपूर्ण पाटो हो । जसबाट घर परिवार र पूरा समाज आकर्षित हुन्छ । यति ठूलो र संवेदनशील सामाजिक सांस्कृतिक विषयलाई जैविक नैसर्गिक अधिकारसँग पनि जोड्ने गरिन्छ ।
मलाई त बहुविवाह र विवाहबीच कुनै सम्बन्ध नै छैन भन्ने लाग्छ । विवाह एक पुरुष र एक महिलाबीच पारिवारिक सामाजिक वा आपसी समझदारीमा जीवनको सहयात्रा गर्ने निर्णयमा दोस्रो महिला या पुरुषको उपस्थिति सामान्य वा स्वस्थ्य अवस्थामा रहनु मनोवैज्ञानिक कुरुपता वा व्यक्तिगत असक्षमता हो ।
विवाह पवित्र, मनोवैज्ञानिक मेल हो । यी सबै हुँदाहुँदै असहज र असामान्य अवस्थामा राष्ट्रिय वा अन्तर्राष्ट्रिय मान्यता प्राप्त सम्बन्ध विच्छेदको विद्यमान कानूनी व्यवस्था हुँदाहुँदै बहुविवाहमा परिमार्जित कानूनलाई पुनः धमिलो बनाउनु वा मानवता मानवीय संवेदना र सभ्य सामाजिक संरचनामा खलल पुग्ने गरी यो विषय उठान गर्नु बढ्दो हत्या, हिंसा पारिवारिक विचलन र नैतिकताहीन समाजको कल्पना गर्नु हो।
विवाह विवाह मात्र बनोस् यसमा कमा वा प्रश्नवाचक चिन्हको प्रयोग गर्न नपरोस्, हाम्रो धार्मिक, सामाजिक र सांस्कृतिक मान्यता जीवित रहोस् । (भट्ट पीएचडी स्कलर हुन्)