काठमाडौँ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुई आणविक पनडुब्बीहरू आवश्यक स्थानमा तैनाथ गरिएको बताएका छन्। उनले पनडुब्बी तैनाथीको आदेश दिएको दुई दिनपछि यो जानकारी सार्वजनिक गरेका हुन्।
पत्रकारहरूले पनडुब्बीहरू रुसको सामना गर्न तैनाथ गरिएको हो कि भनेर सोधेको प्रश्नमा उनले 'आवश्यक स्थानमा तैनाथ रहेको' भन्ने जवाफ मात्र दिए।
ट्रम्पले गत शुक्रबार आफ्नो सामाजिक सञ्जालमार्फत रुसका पूर्वराष्ट्रपति तथा सुरक्षा परिषद्का उपाध्यक्ष दिमित्री मेदभेदेवसँगको विवादपछि दुई आणविक पनडुब्बीहरू तैनाथ गर्न आदेश दिएका थिए।
यसअघि, ट्रम्पले युक्रेनसँगको द्वन्द्व अन्त्य गर्नका लागि रुसलाई दिइएको समयसीमालाई ५० दिनबाट घटाएर १० वा १२ दिनमा झारेका थिए। यसबाट उनले शान्ति सम्झौताका लागि मस्कोको तत्परतामा कमी रहेको सन्देश दिन खोजेका छन्।