माओवादी केन्द्रले आगामी निर्वाचनमा एकल बहुमत ल्याउने दाबी
अब जनताका मुद्दाहरूलाई फेरि प्राथमिकतामा राख्न थालेकाले माओवादीलाई नै रोज्ने
हाम्रा कुरा
प्रकाशित २०८२ साउन २१ बुधबार
555
Shares
काठमाडौँ। नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष तथा प्रवक्ता अग्नि सापकोटाले २०८४ सालमा हुने प्रतिनिधि सभाको निर्वाचनमा आफ्नो पार्टीले एकल बहुमत ल्याउने दाबी गरेका छन्। उनले हालै सम्पन्न स्थायी कमिटी बैठकले पार्टीलाई नयाँ ऊर्जा दिएको बताए।
सापकोटाले माओवादी पार्टी केही समय रुमल्लिएको जस्तो देखिए पनि अब यसले गति लिएको बताए। उनले विगतमा कहिले एमाले त कहिले काँग्रेससँग मिल्दा पार्टीको छुट्टै अस्तित्व नभएको जस्तो देखिएको र त्यसले गर्दा जनता, सहिद तथा बेपत्ता परिवार पार्टीसँग केही टाढा भएको स्वीकार गरे।
उनका अनुसार, पार्टीको वर्गीय दृष्टिकोण 'भुत्ते र धुमिल' भएको कारण सहिद परिवारप्रति उदासीनता बढेको र जनतालाई पनि बेवास्ता भएको जस्तो भएको थियो। उनले यसले पार्टीलाई केही कमजोर बनाएको पनि स्वीकार गरे।
सापकोटाले पार्टीले २०८४ मा एकल बहुमत हासिल गर्नका लागि समाजवादी क्रान्तिको रूपरेखा र मार्गचित्र स्पष्ट पारेको बताए। २०८१ पुस २१ देखि २३ गतेसम्म बसेको केन्द्रीय समितिको बैठकले यो विषयलाई प्रष्ट पारेको उनको भनाइ छ।
उनका अनुसार, पार्टीले हुलाकी राजमार्ग अभियान र मध्यपहाडी लोकमार्ग अभियान सञ्चालन गरेर जनतासँगको सम्बन्धलाई सुदृढ बनाएको छ। यी अभियानहरूले जनताको समस्या बुझ्न र पार्टीको जनसम्बन्धलाई बलियो बनाउन मद्दत गरेको उनले दाबी गरे।
सापकोटाले माओवादी केन्द्रले विभिन्न निर्वाचनमा हासिल गरेको नतिजालाई आफ्नो दाबीको आधार बनाएका छन्। स्थानीय तहको निर्वाचनमा दोस्रो बनेको, स्ववियु निर्वाचनमा काँग्रेस र एमाले मिलेर लड्दा पनि जित हासिल गरेको र नेपाल पत्रकार महासंघ लगायतका संघसंस्थाका चुनावमा पनि राम्रो सफलता प्राप्त गरेको उनले बताए।
माओवादीले अब जनताका मुद्दाहरूलाई फेरि प्राथमिकतामा राख्न थालेकाले जनताले 'अग्रगमन' लाई रोज्दै माओवादीलाई नै रोज्ने उनको दाबी छ।