सांसद कार्कीको आरोप - सरकार होइन, संसद सरकारप्रति उत्तरदायी भइरहेको छ
संसदीय छानबिन समितिको माग
हाम्रा कुरा
प्रकाशित २०८२ साउन २१ बुधबार
1.9k
Shares
काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद रोशन कार्कीले सरकार संसदप्रति नभई संसद नै सरकारप्रति उत्तरदायी भएको आरोप लगाएकी छन्। बुधबार प्रतिनिधि सभाको बैठकमा उनले सरकार संसदप्रति जवाफदेही हुनुपर्नेमा अहिले त्यसको ठीक विपरीत अभ्यास भइरहेको टिप्पणी गरिन्।
सांसद कार्कीले सरकार भिजिट भिसाको दुरुपयोगप्रति गम्भीर नभएको भन्दै आपत्ति जनाइन्। उनले आफूहरू भिजिट भिसाको विरोधी नभएको तर यसको नाममा मानव तस्करी र हत्याजस्ता काम भइरहेको भन्दै विरोध गरेकी हुन्।
"आज हजारौँ दिदीबहिनीहरू वैदेशिक रोजगारीमा गएर बलात्कृत भएका छन्। हाम्रा दाजुभाइहरू बाकसमा फर्किएका छन्," उनले प्रश्न गरिन्, "आज दिनको ५० हजारदेखि १ लाख बुझ्ने गृहमन्त्रीको मुटु काँप्दैन?"
उनले सरकारलाई भ्रष्टाचार गर्न र देश लुटन छुट दिए पनि नेपालीहरूलाई भिजिट भिसाको नाममा विदेशमा लगेर नमार्न र नबेच्न आग्रह गरिन्।
सांसद कार्कीले भिजिट भिसाको दुरुपयोगको सम्बन्धमा आवश्यक छानबिन गर्न संसदीय छानबिन समिति गठन गर्न माग गरेकी छन्।