पर्वतको कोरुङ्गा गाउँ पहिरोको जोखिममा, पाँच घरपरिवार विस्थापित
हाम्रा कुरा
प्रकाशित २०८२ साउन २६ सोमबार
493
Shares
पर्वत। लगातारको वर्षाका कारण पर्वत जिल्लाको मोदी गाउँपालिका-२ देउपुरस्थित कोरुङ्गा गाउँ पहिरोको उच्च जोखिममा परेको छ। पातीचौर–देउपुर–लप्सीवोट सडक निर्माण भएदेखि सुरु भएको पहिरो अहिले बस्तीतर्फ बढेपछि यहाँका पाँच घरपरिवार जोखिममा परेका छन्।
पहिरोले स्थानीय टीकाराम जैसीको घर भत्किएको छ भने कुमार केसीको घर पनि उच्च जोखिममा छ। घर भत्किएपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा सामानहरू सुरक्षित स्थानमा सारिएको छ र उनीहरूको लागि अस्थायी टहरा बनाइएको छ। पहिरो रोकथामका लागि पहल नहुँदा स्थानीय बासिन्दा रातभर जाग्राम बस्न बाध्य भएको बाबुराम जैसीले बताए।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रबिन विष्टले पहिरो झर्ने क्रम नरोकिएकोले जुनसुकै बेला बस्तीमा दुर्घटना हुन सक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरेका छन्। गत वर्ष पनि यही पहिरोले गाउँपालिकाको केन्द्र जोड्ने मुख्य सडक तीन महिनासम्म अवरुद्ध भएको थियो। यस वर्ष पनि सडक पूर्ण रूपमा अवरुद्ध हुँदा स्थानीयलाई आवतजावतमा कठिनाइ भएको छ।
स्थानीयले वातावरणीय र भौगोलिक अवस्थालाई ध्यान नदिई अव्यवस्थित ढंगले सडक निर्माण गरिएको र ढल निकासको राम्रो व्यवस्था नभएकोले यस्तो विपत्ति आएको गुनासो गरेका छन्।