arrow

तीन वर्षमा सम्पन्न हुनुपर्ने कमला नदीको पुल १४ वर्ष पनि अधुरै

logo
हाम्रा कुरा
प्रकाशित २०८२ साउन २६ सोमबार
kamala-rivers.jpg

सिरहा । सिरहा र धनुषा जिल्लालाई जोड्ने कमला नदीको पक्की पुल १४ वर्षदेखि अधुरो रहेको छ। २०६८ सालमा तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यसहित सुरु गरिएको ४ सय ६९ मिटर लामो यो पुल नबन्दा स्थानीयहरूले हरेक वर्ष वर्षायाममा ठूलो सास्ती भोग्नुपरेको छ।

पुल नबन्दा स्थानीयहरूले अस्थायी रूपमा बनाइएको बाँस वा काठको पुलमार्फत जोखिमपूर्ण यात्रा गर्न बाध्य छन्। हालै आएको बाढीले अस्थायी पुल बगाएपछि आवतजावत ठप्प भएको थियो, र अहिले पुनः काठको संरचना बनाएर केही सहज बनाइएको छ, तर जोखिम यथावत् छ।

सिरहा–६ का प्रवीण यादवका अनुसार, यो बाटो भएर यात्रा गर्दा डर लाग्ने र यात्रुहरूबाट मनपरी शुल्कसमेत असुलिँदै आएको छ। उनले नगरपालिकाले निःशुल्क भएको दाबी गरे पनि रु ५० सम्म तिर्नुपरेको बताए।

पुल निर्माणको जिम्मा लिएको पप्पु-लुम्बिनी जेभी मध्ये पप्पु कन्स्ट्रक्सन कालोसूचीमा परेपछि बाँकी काम लुम्बिनी बिल्डर्सले गर्दै आएको थियो। तर, पछिल्लो बाढीले पुलका दुई पाया भासिएपछि आवश्यक मर्मतका लागि बीमा रकम नपाएको भन्दै कम्पनीले एक महिनादेखि काम रोकेको छ।

हुलाकी राजमार्ग निर्देशनालयका सूचना अधिकारी इञ्जीनीयर रञ्जितकुमार रायले निर्माण कम्पनीले तोकिएको म्यादमा काम नगरेकाले ठेक्का तोड्ने र लुम्बिनी बिल्डर्सलाई पनि कालोसूचीमा राख्ने प्रक्रिया अघि बढाएको जानकारी दिए।

पुल नहुँदा बाढीपछिको समयमा यात्रुहरूले बाँसको भर्‍याङ वा डुङ्गाबाट नदी पार गर्नुपर्ने अवस्था रहेको वडाध्यक्ष इन्द्रजित यादवले बताए। कमला पुल अधुरो रहँदा हरेक वर्षको वर्षायाम स्थानीयवासीका लागि चुनौती बन्दै आएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ