arrow

माङसेबुङ गाउँपालिकामा ‘वान्तवा भाषा पाठ्यक्रम’ लागू हुने

logo
हाम्रा कुरा
प्रकाशित २०८२ साउन २७ मंगलबार
Mangsebung_Gaunpalika.png

इलाम। इलामको माङसेबुङ गाउँपालिकाले आधारभूत तहमा ‘वान्तवा भाषा पाठ्यक्रम’ पनि लागू गर्ने भएको छ। गाउँपालिकाका अध्यक्ष हेमन्त राईले यसका लागि कार्यदल गठन गरी काम सुरु भइसकेको बताएका छन्।

यसअघि नै गाउँपालिकाले आधारभूत तहमा ‘स्थानीय पाठ्यक्रम’ र ‘लिम्बू भाषा पाठ्यक्रम’ कार्यान्वयनमा ल्याइसकेको थियो। अध्यक्ष राईका अनुसार, संविधानको धारा ३१ को उपधारा ५ मा रहेको मातृभाषामा शिक्षा पाउने हकलाई सुनिश्चित गर्न यो कदम चालिएको हो। वान्तवाभाषीहरूको बाहुल्यता रहेको क्षेत्रलाई लक्षित गरी यो नयाँ पाठ्यक्रम निर्माण गर्न लागिएको छ।

वान्तवा भाषा पाठ्यक्रम निर्माण गर्नका लागि जीवनज्योति माविका प्रधानाध्यापक मदनकुमार राईको संयोजकत्वमा एक कार्यदल गठन गरिएको छ। यस कार्यदलमा शिक्षक उदय राई, सकुन्ताला राई, अम्बिकाप्रसाद राई, पूर्वशिक्षक गुञ्जकुमार राई र शिक्षा अधिकृत युवराज खनाल लगायतका सदस्यहरू रहेका छन्।

किरात राई यायोख्खाका केन्द्रीय उपमहासचिव कृष्णकुमार राईले यस कार्यलाई सकारात्मक भन्दै यो वान्तवाभाषीहरूका लागि खुसीको खबर भएको बताए। उनले यसलाई कार्यान्वयन गर्न आफ्नो संस्थाले सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरे।

राष्ट्रिय जनगणना २०७८ अनुसार, माङसेबुङ गाउँपालिकामा ४२.८३ प्रतिशत लिम्बू र ३३.६ प्रतिशत राई जातिको बसोबास छ। यसै जनसंख्याको जातीय र भाषिक बाहुल्यताका आधारमा गाउँपालिकाले लिम्बू भाषापछि अब वान्तवा भाषा पाठ्यक्रम लागू गर्ने तयारी गरेको हो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ