दैलेखमा भेटिएको मिथेन ग्यासलाई आयल निगमको स्वामित्व सुनिश्चित गर्न माग
हाम्रा कुरा
प्रकाशित २०८२ साउन २७ मंगलबार
1k
Shares
काठमाडौँ । दैलेखको भैरवी गाउँपालिकास्थित जलजलेमा भेटिएको मिथेन ग्यासको व्यावसायिक उत्पादनमा नेपाल आयल निगमको स्वामित्व सुनिश्चित गर्न माग गरिएको छ ।
नेपाल आयल निगम स्वतन्त्र कर्मचारी युनियनले निगमका कार्यकारी निर्देशकलाई ज्ञापनपत्र बुझाउँदै सो माग गरेको हो । युनियनले उक्त ग्यासको व्यावसायिक उत्पादनमा निगमको स्वामित्व सुनिश्चित गर्दै राष्ट्रहितमा उपयोग गर्न पहल गर्नसमेत जोड दिएको छ ।
चिनियाँ जिओलोजिकल सर्वेले जलजलेमा ११२ अर्ब घनमिटर प्राकृतिक मिथेन ग्यास भण्डारण रेहको पुष्टि भएको र त्यस क्षेत्रमा कुल ४३० अर्ब घनमिटर ग्यास भण्डारण हुने प्रक्षेपणसमेत गरेको छ ।
यो प्रतिवेदनअनुसार नेपालको ग्यास आवश्यकतालाई करिब ५० वर्षसम्म पूरा गर्न सक्ने र अबको एक वर्षभित्रमा परीक्षण उत्पादन गर्न सक्ने सम्भावना देखिएकोसमेत उल्लेख छ ।
युनियनले नेपालमा खाना पकाउन तथा केही औद्योगिक प्रयोजनका लागि चाहिने एलपी ग्यासका लागि वार्षिक अर्बौंँ रुपैयाँ बाहिरिने गरेको दृष्टान्त उल्लेख गर्दै जसका कारणले निगमले वार्षिक अर्बौँ रकम घाटा बेहोर्नुपरेकोसमेत जनाएको छ ।
युनियनले काठमाडौँमा पनि प्राकृतिक ग्यास रहेको भन्ने चर्चा सुनिने गरेको उल्लेख गर्दै सम्भाब्य तेल खानी र ग्यास उत्खनन, अन्वेषण गराउने उद्योग स्थापना गर्ने भन्ने व्यवस्था भएकाले निगमको एकल वामित्व वा निगमले रणनीतिक साझेदारसहितको कम्पनी स्थापना गरी नेपालमा रहेको ग्यास उत्खनन् एवं व्यावसायिक कारोबार गर्न सक्ने देखिएकोसमेत उल्लेख गरेको छ ।
सो सन्दर्भमा युनियनले यसका लागि अगाडि बढ्न सात माग अगाडि सारेको छ ।