सौर्य एयरलाइन्स दुर्घटना: को-पाइलटका पिताद्वारा छानबिन समितिको निष्पक्षतामाथि प्रश्न
हाम्रा कुरा
प्रकाशित २०८२ साउन २९ बिहिबार
2.3k
Shares
काठमाडौँ । गत साउन ९ गतेको सौर्य एयरलाइन्स दुर्घटनामा ज्यान गुमाएका को-पाइलट सुशान्त कटुवालका पिता ओम कटुवालले विमान दुर्घटनाको छानबिन गर्न गठित आयोगका संयोजकले आफूमाथि मानसिक प्रताडना गरेको आरोप लगाएका छन्। बिहीबार प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा प्रतिवेदनमाथि छलफल हुँदा उनले यस्तो आरोप लगाएका हुन्।
कटुवालले आयोगका अध्यक्ष पूर्वाग्रही भएको आशंका व्यक्त गर्दै भने कि उनीसँग कुराकानी गर्न जाँदा नै उनलाई ‘ह्यारेसमेन्ट’ गरिएको थियो र उनले खाँदै आएको औषधिबारे समेत प्रश्न उठाइएको थियो। उनले संयोजकले सोझै 'सुशान्त जर्मनमा जाँदा फेल भएको रहेछ' भनेर कुरा सुरु गरेको बताए। उनले प्रारम्भिक र अहिलेको प्रतिवेदनमा फरक पाइएको भन्दै दुर्घटनाको सम्पूर्ण दोष मृत व्यक्तिमाथि मात्र थुपारिएकोमा आपत्ति जनाएका छन्। उनले भने, "दोष जति सबै एउटामाथि थुपारेर मरेको मान्छेको आत्मालाई नरुवाउनुहोस्।"
कटुवालले क्याप्टेनको कमान्ड भएको बेला को-पाइलटमाथि मात्र किन शंका गरियो भन्दै प्रश्न उठाएका छन्। गत साउन ९ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको उक्त दुर्घटनामा १८ जनाको ज्यान गएको थियो।