भिजिट भिसा प्रकरणमा न्यायिक समिति नबने राप्रपाद्वारा सदन बहिष्कारलाई निरन्तरता
हाम्रा कुरा
प्रकाशित २०८२ साउन २९ बिहिबार
695
Shares
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ध्रुवबहादुर प्रधानले अनियमितता रोक्न न्यायिक छानबिन समिति गठन नभएसम्म सदन बहिष्कारलाई निरन्तरता दिने बताएका छन्। बिहीबारको प्रतिनिधिसभा बैठकमा पनि राप्रपा र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूले बैठक छाडेर बाहिरिएका छन्।
सांसद प्रधानले भिजिट भिसा प्रकरणमा उठेका प्रश्नहरूलाई मध्यनजर गर्दै गृहमन्त्री रमेश लेखकलाई जवाफदेही बनाउनुपर्ने बताए। उनले राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले दिएको राजीनामालाई सकारात्मक कदम मान्दै नियतवश भएको गल्तीमा नैतिकताका आधारमा राजीनामा दिएर मात्र नपुग्ने बताए।
अर्कोतर्फ, रास्वपाकी सांसद चन्दा कार्कीले बुधबारको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी सभापति रवि लामिछानेविरुद्ध दिएको अभिव्यक्ति आपत्तिजनक रहेको बताएकी छन्। उनले अदालतको फैसलालाई सरकारले जिम्मा लिन नसक्ने भन्दै राज्यले हस्तक्षेप गर्दा स्वतन्त्र न्यायपालिका कसरी कायम हुन सक्छ भनी प्रश्न गरेकी छन्। सांसद कार्कीले मन्त्रीहरूको सम्पत्ति सार्वजनिक गरी आर्थिक पारदर्शिता कायम गर्नुपर्नेमा पनि जोड दिएकी छन्।