काठमाडौँ। नेपाल सरकारका पूर्वमुख्यसचिव लीलामणि पौड्यालले मुलुकमा व्यापारका सबैभन्दा ठूला चुनौतीहरूलाई निकासी पैठारी (नियमन) विधेयक, २०८१ ले समेट्न नसकेको बताएका छन्।
शुक्रबार उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा भएको छलफलमा उनले अहिलेको आयात निर्यातमा देखिएका चुनौतीहरूलाई सम्बोधन गर्न यो विधेयकको परिमार्जन जरुरी रहेको बताएका हुन्।
पौड्यालले विश्वमै सबैभन्दा बढी व्यापार घाटा (ट्रेड ग्याप) हुने मुलुकहरूमध्ये नेपाल अग्रस्थानमा पर्ने बताए। उनले भने, "७५ प्रतिशत निर्यात बढ्यो भनेर प्रधानमन्त्रीज्यूले नै संसदमा भनेको सुनियो। सबैले खुसी व्यक्त गरेको देखिन्छ। म त खुसी हुनुपर्ने कुनै कारण नै देख्दिन।"
उनका अनुसार, अहिले भइरहेको निर्यातले नेपालको अर्थतन्त्रलाई दीगो रूपमा सहयोग गर्ने खालको छैन। उनले अहिलेको निर्यातको ८० प्रतिशत हिस्सा नेपालमै उत्पादन नभएका वस्तुहरूको रहेको बताए। पौड्यालले १९९० को दशकमा कार्पेट निर्यातमा जस्तो नेपालको श्रम, सीप र पहिचान झल्कने खालको निर्यात हुनुपर्नेमा जोड दिए।
पूर्वमुख्यसचिव पौड्यालले अहिलेको अवस्थामा वाणिज्य क्षेत्रको एकीकृत ऐनको आवश्यकता रहेको बताए। उनले भन्सार ऐन, औद्योगिक व्यवसाय प्रवर्द्धन ऐन, आर्थिक ऐन, विदेशी मुद्रा विनिमय र वैदेशिक लगानीजस्ता महत्त्वपूर्ण विषयहरू निकासी प्रवर्द्धन ऐनमा नसमेटिएकोले यसले अहिलेका चुनौतीहरू सम्बोधन गर्न नसक्ने धारणा राखेका छन्।