घरका कोठाहरू सुन्दर देखाउन कस्ता इन्डोर प्लान्टहरू सजाउने ?
अर्जुन बिष्ट,
प्रकाशित २०८२ साउन ३१ शनिबार
865
Shares
विश्वका मानव जातिहरूमा फूल रोप्ने प्रचलन धेरै अघिदेखिको हो । विभिन्न देशका सभ्यताका क्रममा सौन्दर्य र आयुर्वेदीय दृष्टिले फूल र फलफूलका बिरुवाहरू रोप्ने प्रचलन विश्वमा विभिन्न लेखोटहरूमा पाइन्छ । पुरातन समयमा धनी व्यक्तिहरूबाट सुरु भएको घरभित्र अर्थात इन्डोर प्लान्टका रुपमा बिरुवा सजाउने प्रचलन हाल विश्वभर लोकप्रिय भई मध्यम र न्यून आय भएका व्यक्तिहरू पनि यसको पहुँचमा पर्न थालेका छन् ।
विश्वमा सुरुमा धनी मुलुक इजिप्ट, ग्रीक र रोमनहरू हुँदै हाल यो विश्वभर विस्तार भएको छ । प्रारम्भमा ती मुलुकमा नाम कमाएका “इंगलिश इभी”, “ड्रयाकेना” र “कास्ट आइरन” नामका बिरुवाहरू अहिले विश्वका कुनाकाप्चामा पुगेका छन् । प्राचीन इजिप्टमा घरहरू उन्यु (फर्न) र ताडका रुखहरूले सजाइन्थ्यो । प्राचीन ग्रीस र रोममा लरेल रुखहरू माटाका भा“डाहरूमा उव्जाइन्थ्यो र रोमनभिल्लाहरू सिट्रस फूलहरूले सुगन्धित हुन्थे ।
प्राचीन चीनमा बगैँचामा गमलामा बिरुवाहरू प्रदर्शन गरिन्थ्यो जसलाई धनको चिन्हको रुपमा लिइन्थ्यो । मध्ययुगीन युगमा गिलीफ्लावरहरू कन्टेनरमा प्रदर्शन गरिन्थ्यो । पुनर्जागरण युगमा बिरुवा सङ्कलनकर्ताहरू र धनी व्यापारीहरूले एशिया र पूर्वी इण्डिजबाट आयात गर्थे । भिक्टोरियाली युगमा बोस्टन फर्न (उन्यू) र जेरुसेलम चेरी जस्ता विदेशी प्रजातिहरूसंगै खजूर, फर्न, चमेली, हात्ती सुँडे झार (हेलियोट्रोप) र गमलाका ज्यामिर (सिट्रस) रुखहरू लोकप्रिय थिए ।
विशेषगरी दोस्रो विश्वयुद्ध पछि घरभित्र बोटबिरुवाहरू रोप्ने प्रचलन शुरु भएका हुन् । वनस्पति जीवनलाई घरभित्रको कोठाहरूभित्र कसरी र कुन स्थानहरूमा रचनात्मक, सुन्दर, अनौठा र जङ्गली स्वरुप दिन सकिन्छ भन्ने कुरामा हाल विश्वभर प्रतिस्पर्धा चलिरहेको छ ।
नेपालमा पनि प्रकृति प्रेमका कारण घर आँगन र करेसाबारीमा फूल रोप्ने प्रचलनबाट माथि उठेर अव घरभित्र पनि प्रकृति भित्र्याउन थालिएका छन् । हरेक वर्ष नेपालमा हुने पुष्पमेला प्रदर्शनीमा हुने भीडभाडले पनि यो कुराको पुष्टि हुन्छ । हामी आफ्नो उपलव्ध कोठाहरूको आकार र उपलव्ध ठाउँहरूमा आफूलाई मनपर्ने बिरुवाहरू सजाई वातावरण सुन्दर बनाउन लालायित छौँ । कुन बिरुवाहरू घरभित्रका कुन—कुन स्थानमा राख्दा राम्रो र सुन्दर देखिन्छ भन्ने कुरा चाहिँ आन्तरिक सजावटविज्ञहरूको कौशलतामा भरपर्ने भएपनि व्यक्ति विशेषले आआफ्नै तौरतरिकाबाट प्रयोग गर्दै आएका छन् ।
इन्डोर प्लान्टप्रतिको मोह बढ्नुको कारणः
नेपालमा पनि विस्तार विस्तार घरभित्र बिरुवाहरू सजाउनेको संख्या दिनानुदिन बढ्दो छ । बिरुवाहरूप्रतिको लगावलाई शौक वा रुचिको रुपमा प्रस्तुत गर्ने, हेरचाह गर्ने, नयाँ बिरुवाहरू कलमी गरी विस्तार गर्ने र विभिन्न प्रजातिका वारेमा सिक्ने प्रक्रियाबाट आनन्द लिने पनि पूmलप्रेमीहरूका विशेषताभित्र पर्दछन् । केही व्यक्तिले आफ्नो ठाउ“को लागि सही बिरुवाहरू छनोट गर्ने र तिनीहरूलाई सफलतापूर्वक कसरी हेरचाह र हुर्काउन सकिन्छ भन्ने चुनौतीकासाथ ज्ञान आर्जन गरी सन्तुष्टि लिन पनि घरभित्र बिरुवा रोप्ने गरेका छन् । शान्त प्रकृति घरभित्रै प्राप्त गर्न पनि यसको प्रचलन बढ्दो छ ।
आफूमा भएका तनाव कमगर्न, बिरुवाहरूको पालनपोषणमा लाग्न, प्रकृतिसंगको सम्बन्ध बुझ्न पनि बिरुवाहरू घरभित्र लगाउने गरिन्छ । केही अध्ययनहरूका अनुसार घरभित्रका बिरुवाहरूले शरीरमा तनाव बढाउने हार्मोन “कोर्टिसोल” को स्तर कमगर्न मद्धत गर्न सक्छन् । अध्ययनहरूले देखाएका छन् कि बोटबिरुवाहरू वरिपरि बस्दा तनाव कम हुन्छ र आराम बढ्छ । यो प्रभाव मनोवैज्ञानिक र शारीरिक दुवै हो जसको अर्थ बोटबिरुवाहरूले मानवको दिमाग र शरीर दुवैमा सकारात्मक उर्जा प्रदान गर्दछ । भनिन्छ, मुटुको धड्कन र रक्तचाप घटाउन पनि यसबाट सहयोग पुग्दछ ।
फूलप्रेमीहरूलाई आफूले सजाउने बिरुवाहरूको बनावट, रंग र रुपहरूको दृश्य सधैँ आनन्द एवं आकर्षणको केन्द्र हुने गर्दछ भने ती बिरुवा देख्ने व्यक्तिहरूले सजाउने र हुर्काउने व्यक्तिको प्रशंसा र कदरबाट ऊ झन् बढी उत्साहित भएर अगाडि बढ्न थप अभिप्रेरणा प्राप्त भैरहेको हुन्छ ।
इन्डोर प्लान्ट सङ्कलकहरूको लाक्षणिक अर्थ मनलाई आल्हाद्धित बनाउन, बिरुवाहरूको हेरचाह, पालनपोषण र यिनका ट्रयाक रेकर्डलाई ध्यान दिनु जस्ता नियमित कार्यहरूले उसलाई स्वर्गीय आनन्द प्राप्त भैरहेको हुन्छ ।
सहरी वातावरणमा रोपिने इन्डोर प्लान्टहरूले प्राकृतिक संसारसँगको सम्बन्ध प्रदान गर्न सक्छन्, जसलाई हामी शान्त र शान्तिको भावनाबाट अभिप्रेरित भएको भन्न सक्छौँ ।
बिरुवाहरूसँग खेल्दा आयु बढ्छ
बिरुवाहरूलाई अरुले आकर्षक तरिकाले सजाएको देखेर पनि कसैकसैले शौकको नक्कलका रुपमा पनि यसलाई अ“गाल्ने गरेका छन् । हेरचाह गर्ने, कलमी हाली नयाँ बिरुवा उत्पादन गर्ने, बिरुवाका विभिन्न प्रजातिहरूको वारेमा सिक्ने क्रममा उनीहरूले आनन्द प्राप्त गर्न सक्छन् ।
प्रौढ व्यक्तिहरूले बाहिर वा घरभित्रका बिरुवाहरूमा दिनमा २—३ घन्टा काम गर्ने हो भने बुढ्यौली भगाउन सहयोग गर्छ साथै आयु पनि बढ्छ भन्ने भनाइ छ । बिरुवाहरू सजाउने व्यक्तिगत शैली र उनीहरूको व्यक्तित्वलाई प्रतिबिम्बित गर्ने एक अद्वितीय तरिकालाई पनि हामी प्रशंसा नगरिरहन सक्दैनौ“ ।
इन्डोर प्लान्टको कुरा ग सर्वप्रथम बिरुवा राख्ने कोठाको आकार, हावा खेल्ने ठाउ“ र बिरुवाको संख्याका आधारमा हावा शुद्धिकरणका लागि यकिन हुन जरुरी छ । साधारणतया प्रत्येक १०० वर्गफिट क्षेत्रका लागि एउटा बिरुवा राख्नु उत्तम मानिन्छ । यदि तपाईंको बैठक कोठा ८ सय वर्गफिट क्षेत्रको छ भने सो कोठामा न्यूनतम ८ वटा इन्डोर प्लान्ट राख्नु उपयुक्त हुन्छ ।
प्रायः इन्डोर प्लान्टहरू कोठाभित्रका फार्मल्डिहाइड, बेञ्जिन ट्राइक्लोरोइथिलिन जस्ता प्रदूषक तत्वहरू हटाई अक्सिजन प्रदान गर्न सक्षम हुन्छन् । बजारमा प्राप्त बिरुवाहरू सब घरभित्र बाँच्न सक्दैनन् । घरभित्र बाँच्ने खालका बिरुवाहरूको प्रजाति थुप्रै छन् । त्यसमध्ये आफूलाई मनपर्ने, स्वास्थ्यका लागि कुनै पनि असर नगर्ने, हेर्दा आकर्षक देखिने तथा अन्ततः ती सबै अक्सिजन दिने खालका बिरुवाहरूमात्र छनोट गर्न सकियो भने सुनमा सुगन्ध हुन्छ ।
तीमध्ये तपाईहरूलाई घर प्रवेशको मूल द्वार, बरण्डा, बैठक, भान्सा, शयन कक्ष, बाथरुम र कौशी, कोठाका झ्यालहरूको स–साना स्थानमा कुन बिरुवाहरू गमलामा सजाउँदा उत्तम लाग्छ, आ–आफ्नो छनोट अनुसार राख्न सकिन्छ । हाल विश्व र नेपालमा चलनचल्तीमा रहेका अक्सिजन प्रदान गर्ने इन्डोर प्लान्टहरूबारे यहाँ चर्चा गर्ने प्रयास गरिएको छ ।
१. मोन्स्टेराः नेपाली नाम कन्सिर्नो हो । अंग्रेजीमा स्विस चिज प्लान्ट, स्प्लिट लिफ फिलोडेन्ड्रन (पात छिद्र वा पातमा प्वाल प्वाल भएको), वैज्ञानिक नाउ“ चाहि “मोन्स्टेरा डेलिसियोसा” हो । घरभित्र रोप्दा था“क्रो भएको गमलामा ६ देखि १० फिट उचाई, घरबाहिर जमिनमा रोप्दा रुखको फेददेखि टुप्पोसम्म ३० देखि ७० फिटसम्म रुखको माथिमाथिसम्म फैलिएका पाइएको छ ।
यो बिरुवाको पात सामान्य बिरुवा अवस्थामा पानको पात आकारमा हुन्छ । पछि बिरुवा वयस्क हुन थालेपछि पातहरूमा प्वाल र पात चिराचिरा हुन्छन् । सामान्यतया यो बिरुवामा हावा शुद्ध गर्ने गुणहरू, आद्र्रता बढाउने क्षमता राख्दछन् ।
आकर्षक सौन्दर्यका लागि यो बिरुवा मूल्यवान ठानिने हु“दा हाल प्रत्येक घरहरूले यो बिरुवा राख्ने गरेका छन् । यसको हरियो पातमा सेतो र पहे“लो छिर्केमिर्के रंगहरूको संयोजन भएको विरुलाई चांहि “भेरिगेटेड एल्बो” भनिन्छ । तिनीहरूले घरभित्रको हावाबाट फर्मल्डिहाइड, बेन्जिन र ट्रइक्लोरोइथिलिन जस्ता प्रदूषक पदार्थहरूलाई हटाई मानिसको स्वस्थ्य जीवनका लागि सहयोग पुर्याउ“छ । थप रुपमा तिनीहरूको वाष्पोत्सर्जन प्रक्रियाले कोठाको आर्द्रता बढाउँछ ।
२. पोथोस प्लान्टः
जसलाई हामी नेपालीमा मनिप्लान्ट पनि भन्दछौं । “एपिप्रेमनम आरियम” यसको वैज्ञानिक नाउ“ हो । यसलाई अंग्रेजीमा सामान्यतया “डेभिल्स आइभी” वा केवल “पोथोस” पनि भनिन्छ । यो एक धेरै लोकप्रिय घरेलु बिरुवा हो जुन यसको सजिलो हेरचाह र विविध पातहरूका लागि परिचित छ । मुटुको आकारको हरियो पानको पातमा पहे“लो र सेतो छिर्केमिर्के रंगहरूले गर्दा यस बिरुवालाई चित्ताकर्षक मानिन्छ ।
हाल विश्वमा यस प्रजातिका बिरुवाहरू १५ थरिका पाइन्छन् । कम प्रकाशमा फस्टाउने हुनाले यसलाई उत्कृष्ट मानिन्छ । भित्री कोठाको हावा यस बिरुवाले सफा गर्दछ । क्षमता विशेष गरी सीमित भेन्टिलेसन भएका ठाउँहरूमा वा हावाको गुणस्तर राम्रो नभएको कोठामा लाभदायक हुन्छ । कम उज्यालो र अप्रत्यक्ष प्रकाशदेखि लिएर विभिन्न प्रकाश अवस्थाहरूमा यो फस्टाउँछ ।
व्यस्त व्यक्तिहरू वा बिरुवा हेरचाहमा सिकारु भएकाहरूका लागि यो बिरुवा हुर्काउन सजिलो हुन्छ । यस बिरुवालाई शयन कक्षको भित्तामा अड्याउनेदेखि विभिन्न तरिकाले सजाउन सकिन्छ । झुण्ड्याउने आकर्षक टोकरीहरू, विभिन्न आकृतिका थाँक्रोहरू राखेर विभिन्न नयाँ-नयाँ तरिकामा यसलाई सजाउन सकिन्छ ।
यो बिरुवाले वाष्पोत्सर्जन मार्फत हावामा आद्र्रताको स्तर बढाउन मद्धत गर्न सक्छन् जुन सुख्खा हावापानीमा लाभदायक हुन्छ । केही संस्कृतिहरूमा पोथोसलाई शुभकामना र समृद्धिसग जोडी मनि प्लान्ट भन्ने गर्दछन् । यसको कलमी सजिलै सर्ने भएकाले तपाईंको बिरुवा संकलनको विस्तार वा अरुसँग साझेदारी गर्न सजिलो हुन्छ । यी बिरुवाहरू तुलनात्मक रुपमा कीट प्रतिरोधी हुन्छन् ।
३. लक्कि ब्याम्बोः
नेपालीमा भाग्यशाली बाँस वा यसको वैज्ञानिक नाउँ “ड्राकेना स्यान्डेरियाना” हो । यो बिरुवा समृद्धि र सौभाग्यको प्रतीक मानिन्छ । यो पानी वा माटोमा राम्रोसंग हुर्कन्छ । प्रत्यक्ष सूर्यको प्रकाश आवश्यक नपर्ने हुनाले यसलाई पनि उत्कृष्ट पंक्तिमा राख्ने गरिएको छ ।
यसको जरा देखाउन ढुंगा र चिप्स प्रयोग गरी सिसाको गिलासमा पानीमा सजाउन सकिन्छ । हावामा हुने टक्सिन र विकारजन्य पदार्थहरू हटाई अक्सिजन प्रदान गर्न यस बिरुवा समर्थवान रहेकाले यस बिरुवालाई पनि इन्डोर प्लान्टका रुपमा अंगीकार गरिएको हो ।
४. स्नेक प्लान्टः
सर्पजस्तै देखिने हु“दा यसको नाउँ “स्नेक प्लान्ट” राखिएको हो । यसको वैज्ञानिक नाउ“ “सान्सेभिएरिया ट्राइफासियाटा” हो । यसलाई सासूको जीव्रो (मदर इन ल टङ्) प्लान्ट, सेन्ट जर्जको तरवार, भाइपर्स बोस्ट्रिङ्ग हेम्पका रुपमा पनि पुकारिन्छ । यसलाई आजकाल बेडरुम प्लान्ट पनि भनिन्छ । एकपटक रोपेपछि वर्षौसम्म आकर्षकता प्रदान गर्ने यस प्लान्टको विशेषता हो ।
विश्वमा वानस्पतिक विज्ञहरूले यस बिरुवालाई विभिन्न ७० प्रजातिका रुपमा विकसित गर्न सफल भएका छन् । तीमध्ये लौरेन्टी, गोल्डेन फ्रेम, गोल्डन हनी इन्डोर प्लान्टको रुपमा प्रख्यात छन् । कम प्रकाश र कम पानी चाहिने हुनाले यस बिरुवालाई उत्कृष्ट ठानिएको छ ।
यसले हावामा हुने फार्मेल्डिहायड, वेन्जिन, जाइलिनो र कार्वन मोनोअक्साइड जस्ता ग्या“सका रुपमा रहेका विषाक्त पदार्थहरू सोसेर वातावरणलाई स्वच्छ बनाउनुका साथै हावा शुद्धिकरणसमेत गर्दछ । रातमा अक्सिजन दिने हुनाले यस बिरुवालाई अनिवार्य रुपमा शयन कक्ष र बैठकमा राख्ने प्रचलन छ ।
भित्री हावाको गुणस्तर सुधार गर्ने हुनाले राम्रोसँग निदाउन मद्धत गर्दछ । प्रायः अरु बिरुवाहरूले दिनमा अक्सिजन उत्सर्जन गर्दछन् भने स्नेक प्लान्टले राति अक्सिजन दिन्छ । यी प्लान्टहरूको चिल्ला, तर हातले कोरेका मूर्तिकला जस्ता देखिने कोमल चिल्ला पातहरूले तपार्ईंको घरको प्रवेशद्वार, घरका अन्य कोठाहरू वा शयनकक्षलाई आकर्षक बनाउँछ ।
यिनीहरूको तरवारजस्ता ठाडो पातहरू र तिनीहरूमा रहेका अद्धितीय रंगहरूको विविधता र ढा“चाहरूले चाहे घरभित्रको भित्री कोठाहरू होस् वा घर बाहिरका स्थानहरूमा आधुनिक डिजाइनको स्पर्शता थप्नमा सहयोग गर्दछ । एकपटक रोपेपछि वर्षौसम्म आकर्षकता प्रदान गर्ने यस प्लान्टको विशेषता हो । यो फूल फुल्न थालेपछि ती फूलहरूमा मीठो भेनिलाको सुगन्धले तपाई“को शयन र बैठक कक्षलाई वास्नादार वातावरण प्रदान गर्दछ ।
५. पिस लिल्लीः यसको वैज्ञानिक नाउँ “स्पाथिफाइलम” हो । मैनबत्तीको ज्वालाजस्तै गरेर मनै लोभ्याउने गरी सेतो फूल फुल्ने यस बिरुवाको विशेषता हो । कोठाभित्रै फुल्ने र कोठाभित्रको हावा शुद्ध गर्ने हुनाले यस बिरुवालाई पनि उत्कृष्ट ठानिन्छ ।
भान्सा वा बाथरुमजस्ता उच्च आद्र्रता हुने ठाउँमा राखेर यसको सुन्दरतालाई प्रदर्शन गर्न सकिन्छ । तिनीहरू गाढा हरियो, चम्किलो पातहरू र आकर्षक सेता फूलहरूले सुन्दर उपस्थिति प्रदान गर्दछ । तिनीहरूले कुनै पनि घरको कोठाको सुन्दरता बढाउन सहयोग गर्छन् ।
यी बिरुवाहरूको उपस्थितिले घर र कार्यालयहरूमा सुन्दरता र स्पर्श थप्छ । इन्डोर प्लान्टको हेरचाह अरु बिरुवाहरूका तुलनामा अपेक्षाकृत सजिलो भएकाले अनुभवी, शिकारु वा नवप्रवेशीहरूका लागि यो बिरुवाको माग उच्च रहेको छ । यस बिरुवाले तनाव कम गर्न र निद्राको गुणस्तर सुधार गर्न मद्धत गर्दछ ।
६. अरेका पामः यसको वैज्ञानिक नाउँ “क्रिसलिडोकार्पस लेटेसेन्स” हो । घरभित्र उज्यालो स्थानहरूमा उव्जाउन सकिने सवैभन्दा लोकप्रिय पाम रुखहरू मध्ये एक हो । यसमा हरियो पातहरू सहितको सुन्दर र आकर्षक प्वा“खहरू हुन्छन् ।
यसका परिपक्व बिरुवाहरू ५ देखि ७ फिट उचाईसम्मका हुन्छन् । यसका पातहरू धेरै भयो भने मूल बोटलाई असर नपर्ने गरी अग्ला पातहरू कट्नी गरी ठीक आकारमा संयोजन गर्न सकिन्छ । यसले कोठाभित्रको आद्रता बढाउँछ ।
यसले कोठाको हावामा हुने हानिकारक पदार्थहरू घटाएर अक्सिजनको स्तर बढाउनुका साथै भित्री हावाको गुणस्तर सुधार गर्ने, आद्र्रता नियन्त्रण गर्ने, स्थानको सौन्दर्य बढाउने जस्ता धेरै फाइदाहरू प्रदान गर्दछ । यो बिरुवाले हावाबाट फार्मल्डिहाइड, जाइलिन र टोल्युइन जस्ता विषाक्त पदार्थहरू हटाउन सहयोग गर्दछन् ।
स्वास प्रश्वास समस्याहरू भए यस बिरुवाले भित्री वातावरण स्वस्थ राख्न सहयोग गर्दछ । साथै यी बिरुवाहरूले वाष्पोत्सर्जन मार्फत हावामा आद्र्रताको स्तर बढाउन मद्धत गर्दछ जुन सुख्खा हावापानीमा वा जाडो महिनाहरूमा हावा सुख्खा भएको बेला लाभदायक हुन्छ ।
सुख्खा छाला, फुटेका ओठ र श्वासप्रश्वासका समस्यालाई कमगर्न मद्धत गर्न सक्छ । अरेका पामहरूमा आकर्षक प्वाँख जस्ता पातहरू भएका कारणले कुनै पनि स्थानमा राख्दा उष्णकटिबन्धीय सुन्दरताको स्पर्श थप्छ । तिनीहरूका हरिया पातहरूले आन्तरिक सजावटका शैलीहरूलाई आकर्षक बनाउँछ । सूर्यको प्रकाश, पानी र राम्रोसंग पानी निकास हुने गमलामा रोप्दा यो बिरुवालाई त्यति थप हेरचाह आवश्यक पर्दैन ।
७. स्पाइडर प्लान्टः यसको वैज्ञानिक नाम “क्लोरोफाइटम कोमोसम” हो । जसलाई नेपालीमा सामान्यतया माकुराको बोट भनिन्छ । माकुरा जस्तो देखिने हुनाले यसलाई स्पाइडर आइभी र हवाई जहाजको बोट पनि भनिन्छ । सधैँ हरियो भैरहने यसको विशेषता हो ।
माकुराको आकारको स्वरुप भएको हुनाले यस बिरुवालाई स्पाइडर प्लान्ट भनिएको हो । यो बिरुवा परिपक्व हुने बित्तिकै बोटको हा“गाहरूमा प्रशस्त बच्चाहरू झुण्डिएको अवस्थामा उत्पादन गर्दछ । हाँगामा रहेका बच्चाहरू झुण्डिएको अवस्थामा सजाउँदा निकै आकर्षक र मनै लोभ्याउने हुन्छन् ।
टोकरीहरूमा झुण्ड्याएर राख्दा पनि यी बिरुवाहरू अति सुन्दर देखिने, वायु शुद्धिकरण र द्रुत वृद्धि यसका विशेषताहरू हुन् । नया“ बिरुवाहरू उमार्न पातमै झुण्डिएको बिरुवालाई छुट्याई रोपेमा सजिलै सर्छ ।
स्पाइडर प्लान्टलाई हावा शुद्ध पार्ने सवैभन्दा सजिलो बिरुवा मध्ये एक मानिन्छ । हावाबाट कार्वन मोनोअक्साइड, जाइलिन, फार्मल्डिहाइड र टोल्युइन जस्ता हानिकारक रसायनहरू हटाउन यो बिरुवा प्रभावकारी मानिन्छ । पूर्वीय संस्कृतिमा यी बिरुवाहरू भाग्य र राम्रो स्वास्थ्यका लागि परिचित छन् ।
यसलाई मानवको स्थिरताको प्रतीकको रुपमा लिने गरिएको छ । यी बिरुवाले हावाको गुणस्तर सुधारका लागि सहयोग गर्छन् । स्याहार संभार र हेरचाह कम गर्नुपर्ने कारण यसलाई बहुमुखी प्रतिभा बिरुवा पनि भनिन्छ । रातमा अक्सिजन दिने हु“दा यी बिरुवाले निद्रालाई सहयोग गर्ने हुंदा शयनकक्ष वा अन्य कोठाहरूमा राख्दा उपयोगी हुन्छ ।
८. यलोभेराः अंग्रेजीमा “यलोभेरा” र वैज्ञानिक नाम “एलो बार्बाडेन्सिस मिलर” हो । नेपालीमा “घृतकुमारी” अर्थात् “घ्यूकुमारी” क्याक्टसजस्तो देखिने अति आकर्षक बिरुवा हो । यसका आकर्षक रसिला पातहरू र हेरचाह गर्न सजिलोका कारण यो बिरुवा घर बाहिर र घरभित्र सजावटका लागि उत्तम ठानिएको छ ।
यसका चुच्चो पातहरू वास्तुकलाको रुप र पातहरूको बनोटले दृश्यात्मक रुपमा आकर्षक मानिन्छ । सदावहार रसिला भएकाले पनि यी बिरुवालाई वर्षैभरि स्थायी सजावटका लागि सुन्दर मानिन्छ । विश्वमा यो बिरुवाको ५०० भन्दा बढी प्रजातिहरू छन् ।
औषधीय र सौन्दर्य प्रसाधन गुणहरूका लागि यो बिरुवा व्यापक मात्रामा प्रयोग हुने गरेका छन् । यसका सवै प्रजातिहरूमा एलोभेरा जस्तै औषधीय गुणहरू हु“दैनन् । यो बिरुवा पोलेको घाउमा प्रयोग हुने हुनाले यसलाई “बर्न प्लान्ट” पनि भनिन्छ । यो बिरुवाको रासायनिक संरचनाले यसको जेल पेय पदार्थहरूमा प्रयोग गर्दा स्वास्थ्यका लागि फाइदा हुने देखिएको छ । यो बिरुवा रसिलो मात्र होइन, आत्मनिर्भर बिरुवाको पंक्तिमा पनि राम्रो स्थान बनाइसकेको छ ।
यसका बाक्ला पातहरूले पानी भण्डारण गर्ने क्षमता राख्दछ । यसलाई धेरै कम हेरचाह चाहिन्छ र उज्यालो, अप्रत्यक्ष प्रकाशमा राम्रोसँग फस्टाउँछ । यसलाई २—३ हप्तामा एकपटक मात्र पानी चाहिन्छ । यसलाई त्यति हेरचाह आवश्यक पर्दैन । यसको जेलले पोलेको, काटेको र छालाको जलनलाई शीतलता प्रदान गर्दछ ।
यसलाई घमाइलो झ्यालमा राख्दा घरको सौन्दर्यता प्रदान गर्दछ । वैज्ञानिकहरूले घ्यूकुमारीको पातमा भएको जेल अन्य कुनै पनि बिरुवाहरू कलमी गर्दा रुटेक्सको विकल्पका रुपमा प्रयोग गर्दा सफलता हात लागेको छ । नयाँ कलमीहरू गर्दा कलमी गर्ने डाँठको स्थानलाई घ्यूकुमारीको जेलमा रगडेर त्यसलाई केहीछिन सुक्न दिई रोप्दा कलमी ९० प्रतिशत सफल भई राम्रै जरा हालेको नतीजा प्राप्त भएका छन् ।
घरभित्र हुने फोहर, कोठाको भित्तामा लगाइने रंग र ग्लुहरूमा पाइने अस्थिर जैविक यौगिकहरू फार्मल्डिहाइड र बेन्जिन जस्ता प्रदूषक पदार्थहरूलाई एलोभेरा बिरुवाले शोषण गर्दछ । साथै भित्री हावाको गुणस्तर सुधार गर्न योगदान गर्दछ ।
९. सकेलन्टसः परिभाषा अनुसार यसको एउटै वैज्ञानिक नाम छैन । यसको हरेक प्रजातिको आ–आफ्नै विशिष्ट वैज्ञानिक नाउँहरू छन् । सकेलन्टस बिरुवाहरूलाई “रसिला–भरिला” बिरुवा भनिन्छ । यो बिरुवा केही इञ्चदेखि २० फिट लम्बाई उचाईसम्मका हुन्छन् ।
जाडोको मध्येदेखि गर्मीयामको बीचमा हरेक वर्ष चम्किलो सुन्तला, रातो वा पहेँलो रंगमा यसका फूलहरू फुल्छन् । साना आकारका प्रजातिहरू ससाना कप वा गमलाहरूमा रोपी सजाउन बढी आकर्षक देखिन्छ । यी खडेरी प्रतिरोधी बिरुवा हुन् जसका पातहरू, डाँठ वा जराहरूमा पानी भण्डारण गर्ने क्षमता हुन्छ । यसैले लामो समयसम्म पनि पानी नै विना पनि यी बिरुवाहरू बा“चिरहन्छन् । जेड प्लान्ट, कालाञ्चो, स्टोनक्रप, आइस प्लान्ट, हेन्स एण्ड चिक्स, इचभेरिया, एइनिउम, हओर्थिया, सेनेसियो भित्री कोठाका खाली रहेका भागहरूमा राखिने बिरुवाहरू हुन् ।
१०. एन्थुरियम र एन्थुरियम म्याक्रोलोबियमः यो फूल फुल्ने प्रजातिहरूमा पर्ने एक इन्डोर प्लान्ट हो । गाढा रातो, फिक्का रातो, पहे“लो, सेतो र बैजनी रंगका बिरुवाहरू प्रचलनमा छन् । एन्थुरियमकै अर्को प्रजातिको बिरुवा एन्थुरियम म्याक्रोलोबियम नेपालमा अप्राप्य मानिन्छ । यो अर्को प्रजाति हो, यसमा फूल फुल्दैन ।
पानको पत्ताको आकारको ठूलठूलो पात भएको बिरुवा हुने भएकाले यसलाई चा“हि “लभ प्लान्ट” पनि भन्ने गरिएको छ र नव बिबाहित दम्पत्तीलाई सुखद् एवं दीर्घ दाम्पत्य जीवनको कामनाका साथ उनीहरूको शयन कक्षमा राख्न यो बिरुवा दुलही अन्माउने दिनमा नै उपहार दिई दुलाहाको घरमै पठाउने चलन नेपालमा चलाइँदो छ । एन्थुरियम म्याक्रोलोबियम सहित एन्थुरियम बिरुवाहरू हावा शुद्धिकरण गर्ने बिरुवाका रुपमा चिनिन्छन् । तिनीहरूले भित्री कोठाका हावाहरूमा हुने फार्मल्डिहाइड, अमोनिया र जाइलिन जस्ता प्रदूषकहरू हटाई अक्सिजन छाड्छन् र आर्द्रता बढाउन मद्धत गर्छन् ।
माथि उल्लेख गरिएका यी बिरुवाका प्रजातिहरूले कोठाको सौन्दर्य, सफा हावा र शान्त वातावरण प्रदान गर्दछन् । यी बिरुवाहरूलाई धेरै हेरचाहको आवश्यकता पनि पर्दैन । यी बिरुवाहरू उज्यालो तर अप्रत्यक्ष प्रकाशमा राख्नु उत्तम मानिन्छ ।
कोठालाई आधुनिक रुप र जीवन्त बनाउनका लागि बिरुवाहरूको खोजीमा हुनुहुन्छ भने यी माथि उल्लेख गरिएका बिरुवाहरू उत्तम शुरुवात हुन् । तर कुन बिरुवा राख्दा उपयुक्त हुन्छ, छनोट तपाईहरूकै अधिकारको कुरा हो । (बिष्ट मिडिया प्वाइन्टका कार्यक्रम निर्देशक हुन् र वनस्पति विधामा कलम चलाउँछन्)