कृषि समिति बैठक पाँच मिनेटमै स्थगित, सांसदले अध्ययन गर्न मागे समय
हाम्रा कुरा
प्रकाशित २०८२ साउन ३१ शनिबार
2.1k
Shares
काठमाडौँ। प्रतिनिधिसभाअन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिको बैठक आज पाँच मिनेटमै बसेर स्थगित भएको छ। बैठकमा भूमि सम्बन्धी केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक को परिमार्जित प्रतिवेदनमाथि छलफल गर्ने कार्यसूची थियो।
समिति बैठक बिहान साढे १० बजे बोलाइए पनि गणपूरक संख्या पुग्न करिब डेढ घण्टा पर्खनुपरेको थियो। समिति सदस्यहरूले विधेयकको परिमार्जित मस्यौदा अध्ययन गर्न समय नपुगेको भन्दै थप समयको माग गरेपछि बैठक स्थगित गरिएको हो।
समिति सभापति कुसुमदेवी थापाले पत्रकारहरूलाई दिएको जानकारीअनुसार, सांसदहरूले विधेयकमाथि थप अध्ययनका लागि समय मागेकाले बैठक स्थगित गरिएको हो।
नेपाली काँग्रेसकी सांसद प्रतिमा गौतमले हिन्दुकुश सम्मेलनमा व्यस्त रहनुपरेकाले पनि विधेयक अध्ययन गर्न समय नपुगेको बताइन्। यसैगरी, नेकपा एमालेकी सांसद सरस्वती सुब्बाले संघीय निजामती विधेयक मा हालै भएको घटनाबाट पाठ सिक्दै भूमि विधेयकलाई गुणात्मक बनाउनका लागि समय माग गरिएको बताइन्। उनले भूमि सम्बन्धी विषय राजनीतिक मुद्दा पनि भएकाले राजनीतिक सहमति गर्नका लागि पनि समय आवश्यक रहेको उल्लेख गरिन्।
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अशोककुमार चौधरीले भने भूमिहीन दलित र सुकुम्बासीलाई देखाएर प्रपञ्च रचिएको आरोप लगाएका छन्। उनले भूमि व्यवस्था मन्त्री बलराम अधिकारीकै विमति हुनु र सत्ता पक्षका सांसदहरूले गोप्य बैठक बसेर बैठक स्थगित गरिएकोमा आपत्ति जनाएका छन्।