arrow

गण्डकीमा डेंगीको सङ्क्रमण बढ्दो

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ १ आइतबार
dengue--ji-ha.jpeg

गण्डकी। गण्डकी प्रदेशमा गत पुसयता ८११ जनामा डेंगी सङ्क्रमण पुष्टि भएको छ। पछिल्लो तीन हप्तामा मात्रै २०२ जनामा यो रोगको सङ्क्रमण देखिएको प्रदेश स्वास्थ्य मन्त्रालयले जनाएको छ।

मन्त्रालयको तथ्याङ्कअनुसार, सबैभन्दा बढी सङ्क्रमित कास्की जिल्लामा ४४१ जना छन्, जसमध्ये ४३२ जना पोखरा महानगरपालिकाका मात्रै हुन्। गत वर्ष पनि डेंगीको 'हटस्पट' बनेको पोखरामा सो वर्ष ८ हजार ६०० भन्दा बढी मानिस सङ्क्रमित भएका थिए र तीन जनाको मृत्यु भएको थियो।

अन्य जिल्लाहरूमा तनहुँमा १२०, लमजुङमा ९३, गोरखामा ५८, बागलुङमा ३२, स्याङ्जामा ३२, पर्वतमा २०, म्याग्दीमा १०, नवलपुरमा ४ र मुस्ताङमा १ जनामा डेंगी देखिएको छ। यस वर्ष मनाङ जिल्लामा भने डेंगीको सङ्क्रमण देखिएको छैन।

स्वास्थ्यकर्मीहरूका अनुसार, साउनदेखि कात्तिकसम्म डेंगी सङ्क्रमण बढ्ने जोखिम उच्च रहने भएकाले आगामी दिनमा बिरामीको सङ्ख्या अझ बढ्न सक्ने अनुमान छ। यसको रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्य मन्त्रालय र स्थानीय तहहरूले 'डेंगी सार्ने लामखुट्टेको बासस्थान खोजौँ र नष्ट गरौँ' अभियान चलाइरहेका छन्।

डेंगीबाट जोगिन घर, कार्यालय र सार्वजनिक स्थलमा पानी जम्मा हुन नदिन र पुराना टायर, ड्रम, भाँडाकुँडा आदिमा जमेको पानी फाल्न स्वास्थ्यकर्मीहरूले सुझाव दिएका छन्। डेंगी 'एडिस एजिप्टाइ' जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने गर्छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ