मुग्लिन । मुग्लिन-नारायणगढ सडकखण्ड चार घण्टापछि सञ्चालनमा आएको छ । बिहान करिब ४ बजे तुइनखोला नजिकै ठूलो पहिरो खसेर सडक अवरुद्ध भएको थियो ।
दुई वटा डोजर प्रयोग गरी करिब तीन घण्टा लगाएर पहिरो पन्छाएसँगै सडक पूर्णरुपमा सञ्चालनमा आएको सडक डिभिजन कार्यालय भरतपुरका सडक सुपर भाइजर ईश्वर क्षेत्रीले जानकारी दिए ।
वर्षायामको समयमा यस सडक खण्डमा पहिरोको जोखिम उच्च हुने हुनाले बुझेर, हेरेर मात्रै यात्रा गर्न क्षेत्रीले आग्रह गरेका छन् ।
मुग्लिन-नारायणगढ सडकमा पहिरोको उच्च जोखिम मानिन्छ । यस सडकमा वर्षायाममा मात्र होइन हिउँदमा पनि सुख्खा पहिरो खसेर कयौँ घटना हुने गरेका छन् ।