मानव अंग प्रत्यारोपणसम्बन्धी कानून खुकुलो बनाउँदा विकृति बढ्छः स्वास्थ्यमन्त्री पौडेल
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ १ आइतबार
493
Shares
ललितपुर। स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले मानव अंग प्रत्यारोपणसम्बन्धी कानूनलाई खुकुलो बनाउँदा यसले विकृति निम्त्याउन सक्ने बताएका छन्। उनले नेपालमा मिर्गौला, कलेजो, आँखाजस्ता अंगहरू पर्याप्त मात्रामा उपलब्ध नभएको अवस्थामा कानुन खुकुलो बनाउन नसकिने बताए।
ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले अंग प्रत्यारोपणलाई सहज बनाउन खोज्दा मानव अंगको बेचबिखन बढ्ने जोखिम रहेको बताए। उनले भारतको उदाहरण दिँदै सन् १९८२ सम्म अंग दिन पाउने व्यवस्था हुँदा गरिब मानिसहरूले आफ्नो अंग बेचेको र त्यसपछि कानुन कडा बनाउनुपरेको बताए। नेपालमा पनि नाता सम्बन्धभित्र मात्र अंग प्रत्यारोपणको व्यवस्था सीमित रहेको उनको भनाइ थियो।
मन्त्री पौडेलले यसको समाधानका लागि इरानको सफल प्रयोगबारे चर्चा गरे। उनले भने, "ब्रेन डेथ' (मस्तिष्क मृत्यु) भइसकेको व्यक्तिबाट २४ घण्टाभित्र अंग निकालेर प्रत्यारोपण गर्न सकिन्छ। यसो गर्दा मिर्गौला फेल भएका वा आँखा नदेख्ने व्यक्तिले नयाँ जीवन पाउन सक्छन्।"
उनले एउटाले अर्कोलाई सहयोग गर्नु नै मानव धर्म भएको बताउँदै स्वस्थ मानिस मात्र सुखी हुने धारणा व्यक्त गरे।