इजरायलसँगको द्वन्द्व कुनै पनि बेला भड्किन सक्ने इरानको चेतावनी
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ ३ मंगलबार
1.4k
Shares
काठमाडौँ। इरानका वरिष्ठ अधिकारीहरूले इजरायलसँगको हालको शान्ति अस्थायी मात्र रहेको र कुनै पनि बेला द्वन्द्व पुनः सुरु हुन सक्ने चेतावनी दिएका छन्।
प्रथम उपराष्ट्रपति मोहम्मद रेजा अरेफले गत जुनमा १२ दिनसम्म चलेको युद्धपछिको वर्तमान अवस्थालाई 'शत्रुताको अन्त्य'को चरण मात्र भएको बताए। “हामी हरेक क्षण मुठभेडका लागि तयार रहनुपर्छ। अहिले हामी युद्धविराममा पनि छैनौँ,” उनले भने।
गत जुनमा भएको द्वन्द्वमा इजरायलले इरानी सैन्य तथा आणविक स्थलहरूमा बमबारी गरेको थियो, जसमा एक हजारभन्दा बढीको मृत्यु भएको थियो। यसको बदलामा इरानले क्षेप्यास्त्र र ड्रोन आक्रमण गर्दा इजरायलमा पनि ठूलो क्षति पुगेको थियो।
यस विषयमा इरानका सर्वोच्च नेता अयातुल्लाह अली खामेनीका सैन्य सल्लाहकार याह्या रहिम सफावीले पनि इरानले सबैभन्दा खराब परिस्थितिसँग जुध्नका लागि योजना बनाइरहेको बताएका छन्। “हामी अहिले युद्धविराममा छैनौँ, हामी युद्धको चरणमा छौँ, यो कुनै पनि बेला टुट्न सक्छ,” उनले भने।
पश्चिमा राष्ट्रहरूले इरानले आफ्नो आणविक कार्यक्रममार्फत आणविक हतियार बनाउन खोजेको आरोप लगाउँदै आएका छन्। संयुक्त राष्ट्रसंघको आणविक निगरानी निकायले इरानले सन् २०१५ को सम्झौतामा तोकिएको ३.६७ प्रतिशतको सीमाभन्दा धेरै माथि ६० प्रतिशतसम्म युरेनियम संवद्र्धन गरिरहेको चेतावनी दिएको छ। आणविक हतियारका लागि ९० प्रतिशतसम्म संवद्र्धन आवश्यक हुन्छ।
यसको जवाफमा सन् २०१५ को सम्झौतामा हस्ताक्षर गरेका बेलायत, फ्रान्स र जर्मनीले इरानमाथि हटाइएका प्रतिबन्धहरू पुनः लागू गर्ने चेतावनी दिएका छन्। इरानका केही अधिकारीहरूले पनि आणविक अप्रसार सन्धिबाट बाहिरिने सङ्केत दिएका छन्, जसले गम्भीर परिणाम निम्त्याउन सक्ने चेतावनी दिएका छन्।