arrow

गङ्गाजमुनाद्वारा स्वास्थ्यकर्मीलाई सम्मान

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ ३ मंगलबार
gangajamuna-gaunpalika.jpg

मलेखु । धादिङको गङ्गाजमुना गाउँपालिकाले स्वास्थ्यकर्मीलाई सम्मान गरेको छ ।

पहाडको भिरपाखा चिर्दै, असहज बाटो हिँड्दै, औषधि र उपकरणको अभावसँग जुध्दै दुर्गम गाउँका नागरिकको स्वास्थ्य जोगाउन दिनरात खटिएका स्वास्थ्यकर्मीलाई सो गाउँपालिकाले सम्मान गरेको हो । 

सहज सडक सञ्जाल नपुगेको, अस्पताल टाढा रहेको र आधारभूत सुविधा पनि न्यून रहेको दुर्गम बस्तीमा नै नागरिकलाई उपचार पुर्‍याउन खटिएका स्वास्थ्यकर्मीलाई गाउँपालिकाले यस वर्ष विशेष सम्मान गरेको हो । 

दुर्गम बस्तीमा रहेर नागरिकलाई स्वास्थ्य सेवा पुर्‍याउन उनीहरूले गरेको अतुलनीय योगदानको उच्च मूल्याङ्कन गर्दै सम्मान गरिएको गाउँपालिकाका अध्यक्ष भक्तबहादुर लामाले बताए ।

गङ्गाजमुना गाउँपालिकामा नौ स्वास्थ्य संस्था छन् । सबै स्वास्थ्य संस्थाबाट उत्कृष्ट एक/एक स्वास्थ्यकर्मीलाई सम्मान गरिएको गाउँपालिकाका स्वास्थ्य संयोजक दीपक अधिकारीले जानकारी दिए । 

“यो सम्मानले आपसी प्रतिस्पर्धा र जिम्मेवारी पनि बढाउनेछ”, उनले भने, “दुर्गम क्षेत्रमा स्वास्थ्य सेवा पुर्‍याउनु सजिलो छैन, तर जब स्थानीय सरकारले हाम्रो कामको मूल्याङ्कन गर्छ, त्यो नै अर्को वर्ष अझ उत्कृष्ट काम गर्ने प्रेरणाको स्रोत बन्छ ।”

स्थानीय सरकारले गरेका यस्ता पहलले स्वास्थ्यकर्मीको आत्मविश्वास बढाउने, सेवा गुणस्तरीय बन्ने र सर्वसाधारण नागरिकले नै प्रत्यक्ष लाभ पाउने स्वास्थ्यकर्मीको भनाइ छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ