युक्रेनमा शान्तिको प्रयास जारी, तर रुसको आक्रमण तीव्र
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ ५ बिहिबार
1.4k
Shares
काठमाडौँ। नेटोका सैन्य प्रमुखहरूले युक्रेनको सुरक्षा सुनिश्चिततासम्बन्धी अन्तिम विवरणमा बुधबार छलफल गर्ने कार्यक्रम तय गरेका छन्। तर, यसैबीच रुसी सेनाले युक्रेनमा थप आक्रमण तीव्र पारेको छ।
नेटोका ३२ सदस्य राष्ट्रका सैन्य प्रमुखहरूको भर्चुअल बैठक बुधबार दिउँसो २:३० बजे सुरु हुँदैछ। यस बैठकमा युक्रेनका लागि उत्तम सुरक्षा विकल्पहरूबारे छलफल हुने बताइएको छ।
यता, रुसी सेनाले युक्रेनका थप तीनवटा बस्तीमा नियन्त्रण कायम गरेको दाबी गरेको छ। रुसी रक्षा मन्त्रालयका अनुसार डोनेट्स्क क्षेत्रका सुखेतस्के र पानकिभका गाउँहरूमा रुसले कब्जा जमाएको छ। यसैगरी, पूर्वी खार्किभ क्षेत्रमा रुसी ड्रोन आक्रमणमा दुई जनाको मृत्यु भएको छ भने कोस्टियानटाइनिभ्कामा रुसी ‘ग्लाइड बम’ विस्फोट हुँदा चार जना भग्नावशेषमा फसेको बताइएको छ। सुमी क्षेत्रमा भएको हवाई आक्रमणमा तीन बालबालिकासहित कम्तीमा १४ जना घाइते भएका छन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग भेटवार्ता गरेपछि युक्रेनमा शान्तिको सम्भावनाबारे बहस सुरु भएको छ। ट्रम्पले अमेरिकाले युक्रेनमा सेना नपठाउने, तर हवाई सहयोग उपलब्ध गराउने बताएका छन्। युक्रेनी राष्ट्रपति जेलेन्स्कीका अनुसार यी पछिल्ला आक्रमणहरूले मस्कोमाथि थप दबाब सिर्जना गर्नुपर्ने आवश्यकतालाई पुष्टि गरेका छन्।