विश्वविद्यालयहरू कुनै पनि कारणले बन्द गर्न नपाउने व्यवस्था विधेयकमा समेट्न माग
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ ५ बिहिबार
1.8k
Shares
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले विद्यार्थीको शिक्षा पाउने मौलिक हकको सुनिश्चितताका लागि विद्यालय र विश्वविद्यालयहरू कुनै पनि कारणले बन्द गर्न नपाउने व्यवस्था विद्यालय शिक्षा विधेयक, २०८० मा समेट्न माग गरेकी छन्।
बिहीबार सिंहदरबारमा बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै उनले विद्यालयमा हुने तालाबन्दी र बन्द-हड्ताललाई पूर्ण रूपमा निषेध गर्नुपर्नेमा जोड दिइन्।
सांसद श्रेष्ठले विधेयकमा शिक्षकहरूलाई बन्द-हड्ताल गर्न नपाउने भनी उल्लेख गरिए पनि सोही प्रावधान निजी विद्यालयहरूका लागि पनि लागू हुनुपर्ने बताइन्। “विद्यालय, विश्वविद्यालय कहिले कसले बन्द गर्ने, यो कुरा अन्त्य होस्,” उनले भनिन्।
यसका साथै, उनले अनिवार्य र निःशुल्क शिक्षाको हक तोकेबमोजिम सबैले पाउनुपर्ने पनि उल्लेख गरिन्। समितिमा विद्यालय शिक्षा विधेयक, २०८० सम्बन्धी प्रतिवेदनमाथि छलफल भइरहेको छ।