काठमाडौँ । समाजवादी गणतन्त्र भियतनामकी उपराष्ट्रपति भो थि आन सुआन तीनदिने औपचारिक भ्रमण पूरा गरी आइतबार मध्यरात स्वदेश फर्केकी छन्। उनी उपराष्ट्रपति रामसहायप्रसाद यादवको मैत्रीपूर्ण निमन्त्रणामा नेपाल भ्रमणमा आएकी थिइन्।
उनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई लगायतले बिदाइ गरे। त्यस अवसरमा नेपाली सेनाले उनलाई 'गार्ड अफ अनर' प्रदान गरेको थियो।
भदौ ७ गते नेपाल आएकी उपराष्ट्रपति सुआनले भ्रमणका क्रममा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग भेटवार्ता गरेको समाचारमा बताइएको छ।
भियतनामको तर्फबाट नेपालमा भएको यो पहिलो उच्चस्तरीय भ्रमण हो। यस वर्ष दुई देशबीचको कूटनीतिक सम्बन्ध स्थापना भएको ५०औँ वर्षगाँठ परेकाले यो भ्रमणलाई विशेष महत्त्वका साथ हेरिएको छ।