काँकडभिट्टा नाकाबाट एकै महिनामा डेढ अर्बको पेट्रोलियम पदार्थ आयात
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ ११ बुधबार
626
Shares
भद्रपुर (झापा)। चालु आर्थिक वर्षको पहिलो महिनामा मेची भन्सार कार्यालय, काँकडभिट्टाबाट १ अर्ब ५० करोड १३ लाख ६५ हजार रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३.६० प्रतिशतले बढी हो।
मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईँका अनुसार, आयातमा भएको वृद्धिसँगै राजस्व सङ्कलन पनि ११.८० प्रतिशतले बढेको छ। पेट्रोलियम पदार्थको आयातबाट कुल ७४ करोड ८३ लाख ३२ हजार रुपैयाँ राजस्व सङ्कलन भएको छ।
यस अवधिमा सबैभन्दा धेरै ७७ करोड ३ लाख रुपैयाँ बराबरको ८,९०४ किलोलिटर पेट्रोल आयात भएको छ। यसैगरी, ४४ करोड ११ लाख रुपैयाँको ४,६७६ किलोलिटर डिजेल, २० करोड ३ लाख रुपैयाँको १,९३३ मेट्रिक टन एलपी ग्यास, ७ करोड ३ लाख रुपैयाँको ७९२ किलोलिटर एटीएफ, र १ करोड १३ लाख रुपैयाँको १२८ किलोलिटर मट्टितेल आयात भएको छ।