उमाकान्त चौधरीका दाजुको निधन, देउवाद्वारा दुःख व्यक्त
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ १३ शुक्रबार
778
Shares
काठमाडौँ। नेपाली कांग्रेसका सहमहामन्त्री उमाकान्त चौधरीका दाजु तथा पार्टीका नेता रामाकान्त चौधरीको निधन भएको छ। नेपाल शिक्षक सङ्घ बाराका सदस्यसमेत रहेका चौधरीको भदौ ६ गते मेडिसिटी अस्पतालमा निधन भएको हो।
नेपाली कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज एक शोक विज्ञप्ति जारी गर्दै चौधरीको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन्।
विसं २०१३ भदौ १५ गते जन्मनुभएका रामाकान्त चौधरीले लोकतन्त्रको स्थापना र पुनःस्थापना आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेका थिए। कांग्रेसले जनाएअनुसार, लोकतन्त्र र जनताको हक अधिकारका लागि गरिएको सङ्घर्षमा उनले पटक-पटक जेल जीवन पनि बिताएका थिए।
विद्यार्थी जीवनदेखि नै राजनीतिमा लागेका चौधरीको निधनले कांग्रेसले एक होनाहार व्यक्तित्व गुमाएको पार्टीले बताएको छ। उनको निधनप्रति पार्टी सभापति शेरबहादुर देउवाले गहिरो दुःख व्यक्त गर्दै आत्माको चिरशान्तिको कामनासहित शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेका छन्।