arrow

५२ वर्षको उमेरमा कलेज भर्ना भएका वडाध्यक्षको कथा

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ १४ शनिबार
shiva-khanal-wadadhakshaya.jpg

मनहरी। मकवानपुरको मनहरी गाउँपालिका–१ का वडाध्यक्ष शिवप्रसाद खनालले ५२ वर्षको उमेरमा कलेजमा भर्ना भएर औपचारिक शिक्षा सुरु गरेका छन्। उनी अहिले हेटौंडाको निर्मल बहुमुखी क्याम्पसमा स्नातक तह (ब्याचलर) को पहिलो वर्षमा समाजशास्त्र र स्वास्थ्य विषय अध्ययन गरिरहेका छन्।

वडाध्यक्ष खनालले विगतमा आफू शिक्षित नहुँदा मनमा गहिरो खालीपन महसुस भइरहने बताए। गाउँका कार्यक्रमहरूमा शिक्षित व्यक्तिहरूको सक्रियता र प्रभाव देखेर आफूलाई पनि पढ्ने प्रेरणा मिलेको उनको भनाइ छ।

जीवनमा धेरै उतारचढाव भोगेका खनालले पाँचपटक विदेश जाने प्रयास गरे पनि सफल हुन सकेनन्। उनले बस बेच्ने, पसल चलाउने, र कुखुरा पाल्ने जस्ता धेरै कामहरू गरे। यी सबै चुनौतीका बाबजुद उनी कहिल्यै हतोत्साहित भएनन्।

वडाध्यक्ष बन्नुअघि उनको मुख्य चाहना एउटा विद्यालयको अध्यक्ष बन्ने थियो। २०७४ सालमा उनी पहिलोपटक वडाध्यक्षमा निर्वाचित भएपछि बाल जीवन ज्योति विद्यालय, मकरीको अध्यक्षको जिम्मेवारी पनि सम्हाले। उनले नै विद्यालयमा सप्ताहपूजाबाट संकलन भएको पैसाले कक्षा १२ सम्मको पढाइ सुरु गर्ने निर्णय गरे, जसले गर्दा गाउँका विद्यार्थीलाई उच्च शिक्षाको ढोका खुल्यो।

२०५२ सालमा एसएलसी पास गरेका खनालले २७ वर्षपछि २०७९ सालमा आफूले नै कक्षा १२ सम्म बनाएको विद्यालयमा पुनः भर्ना भए। शिक्षाप्रतिको मोहले उनले २०८१ सालमा २.६ जीपीए ल्याएर कक्षा १२ उत्तीर्ण गरे। यही सफलताले उनलाई थप हौसला दियो र अहिले उनी स्नातक तहको पढाइमा लागेका छन्।

सामाजिक जिम्मेवारीका साथै पढाइलाई पनि समय दिइरहेका खनालको यो लगनशीलता र जीवनभर सिकिरहने जाँगर उनको समुदायका लागि पनि ठूलो प्रेरणाको स्रोत बनेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ