निजामती विधेयकमाथि दफावार छलफल सकियो, विवादित विषयमा अझै सहमति हुन बाँकी
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ १५ आइतबार
1.5k
Shares
काठमाडौँ । राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिले संघीय निजामती सेवा विधेयकमाथिको दफावार छलफल आइतबार सकेको छ। प्रतिनिधि सभाबाट पास भएको प्रतिवेदनसहित विधेयकमाथि छलफल सकिए पनि केही विवादित विषयहरूमा भने अझै सहमति हुन सकेको छैन।
समितिमा नायब सुब्बाको खुला कोटा र प्रतिशत तोक्ने, ६० वर्षे अवकाश उमेर कार्यान्वयनको मोडेल, करार कर्मचारी र राजनीतिक गतिविधि जस्ता महत्त्वपूर्ण विषयहरूमा निर्णय हुन बाँकी छ।
छलफलका क्रममा सांसदहरूले कर्मचारी ट्रेड युनियन लाई व्यवस्थित गर्नुपर्नेमा जोड दिए। राष्ट्रिय सभाका सांसद अञ्जान शाक्यले सबै तहका कर्मचारी संगठनहरूलाई केन्द्रीय संगठनसँग जोड्ने गरी कानुनी व्यवस्था गर्नुपर्ने आवश्यकता औंल्याएकी छन्। यसो गर्दा कर्मचारीबीच समन्वय र एकता बढ्ने उनको तर्क छ।
त्यस्तै, नेकपा (एकीकृत समाजवादी) का सांसद वेदुराम भुसालले पनि ट्रेड युनियनलाई केन्द्रसँग जोडेर व्यवस्थित बनाउनुपर्ने धारणा राखे। उनले यसो गर्दा अराजकता फैलने सम्भावना कम हुने बताए।
समितिले अब सहमति हुन बाँकी विषयहरूमा सामान्य प्रशासन र कानुन मन्त्रालयलाई आफ्नो धारणा पेस गर्न निर्देशन दिएको छ। यी विषयमा थप छलफलका लागि आइतबार नै दिउँसो २ बजे अर्को बैठक बोलाइएको छ।