सशस्त्र प्रहरीको जिमुवा बीओपीमा नयाँ पूर्वाधार निर्माण
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ १६ सोमबार
701
Shares
भीमदत्तनगर। कञ्चनपुरको भीमदत्त नगरपालिका–१० मा रहेको सशस्त्र प्रहरी बलको जिमुवा बोर्डर आउट पोष्ट (बीओपी) को स्थापनाको पाँच वर्षपछि पूर्वाधार निर्माण भएको छ। विसं २०७७ असोजमा स्थापना भएको यस बीओपीमा आवास र अतिथि गृहसहितका संरचना निर्माण गरिएको हो।
आइतबार सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री हिरा सार्कीले नवनिर्मित अतिथि गृह भवनको उद्घाटन गरेका छन्।
मन्त्री सार्कीले बीओपीमा पूर्वाधार सुधार गर्ने योजनाअन्तर्गत यो भवन निर्माण गरिएको बताए। उनले पूर्वाधारको अभावमा सीमा सुरक्षामा खटिएका प्रहरीहरू आफैँ असुरक्षित हुने अवस्था भएकाले प्रदेश सरकारले यसलाई प्राथमिकतामा राखेको जानकारी दिए।
उनले प्रहरीलाई सीमा निगरानी, अवैध ओसारपसार र राजस्व छली नियन्त्रणमा थप सक्रियताका साथ काम गर्न निर्देशन पनि दिए।
सशस्त्र प्रहरी बलका सुदूरपश्चिम प्रमुख प्रदीपकुमार पालले पूर्वाधार निर्माणले प्रहरीको सेवा प्रवाहमा सहजता आउने बताए। उनले अन्य बीओपीहरूमा पनि आवश्यक पूर्वाधार निर्माणका लागि सरकारसँग आग्रह गरे।
मन्त्रालयका निमित्त सचिव आमोद दहालका अनुसार, रु २९ लाख ७३ हजारको लागतमा अतिथि गृह निर्माण गरिएको हो। यसै आर्थिक वर्षमा थप तीनवटा बीओपीमा पूर्वाधार निर्माण गर्ने प्रदेश सरकारको योजना रहेको पनि उनले बताए। यसअघि जिमुवामा दुईवटा प्रहरी ब्यारेक भवन पनि निर्माण भइसकेका छन्।