गोडैतामा इलाका प्रशासन कार्यालय स्थापना गर्न दबाब [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ १७ मंगलबार
576
Shares
सर्लाही । सर्लाहीको गोडैता नगरपालिका ७ मा इलाका प्रशासन कार्यालय स्थापना गर्न दबाब दिइएको छ । गत आइतबार संघीय सरकारका गृहमन्त्री रमेश लेखकलाई ध्यानाकर्षण पत्र बुझाइएको थियो भने सोमबार सर्लाहीमा नाराजुलुससहित नगर परिक्रमा गरिएको छ ।
संघीय सरकारले गत भदौ ९ गतेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार सर्लाहीका पाँच ओटा पालिका क्रमशः गोडैता, विष्णु, बलरा, रामनगर र धनकौलका लागि बलरा नगरपालिकामा इलाका प्रशासन कार्यालय स्थापना गर्ने भनेको थियो ।
त्यसको विरोधमा नाराजुलुस चर्किएको हो । सरकारको निर्णय अनुसार तोकिएको उक्त स्थान उपयुक्त नहुने निष्कर्षसहित गोडैतामा सार्न आग्रह गरिएको हो ।
पाँचै पालिकाको सेवा सुविधा र सुरक्षाका हिसाबले बलरामा अनुपयुक्त रहेको र भारतको सीमा छेउँमा रहेकाले सुरक्षाको हिसाबले पनि संवेदनशील रहेकाले पाँच ओटै पालिकाको बीच भागमा पर्ने गोडैतामा सबैलाई सहज र उपयुक्त र सुरक्षित सेवा प्रवाह हुने दाबी गरिएको हो ।
सर्लाही क्षेत्र नम्बर ४ (क) का सांसद विरेन्द्रप्रसाद सिंह, क्षेत्र नम्बर ४ ख का सांसद फकिरा महतो, गोडैता नगरपालिकाकी कार्यवाहक नगरप्रमुख अन्जना कुशबाहा, विष्णु गाउँपालिकाका अध्यक्ष जवाहर राय र धनकौल गाउँपालिकाका अध्यक्ष रामअश्राय साहले आइतबार गृहमन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाएका थिए ।
त्यस्तै सोमबार सांसद सिंहको नेतृत्त्वमा सर्लाहीमा नाराजुलुससहित नगर परिक्रमा गरिएको थियो ।