नेपालमा विदेशी नागरिक दर्ता तथा अनुगमन प्रणाली असोज १ गतेदेखि लागू हुँदै [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ १७ मंगलबार
773
Shares
काठमाडौं । अध्यागमन विभागले आगामी असोज १ गतेदेखि विदेशी नागरिक दर्ता तथा अनुगमन प्रणाली लागू गर्ने भएको छ। यो प्रणाली नेपाल भ्रमण गर्ने विदेशी नागरिकहरूको सुरक्षा, सूचनाको सहजीकरण, सम्भावित अपराध नियन्त्रण र पर्यटन प्रवर्द्धनमा सहयोग पुर्याउने उद्देश्यले ल्याइएको हो।
यो प्रणाली दुई चरणमा लागू गरिनेछ। पहिलो चरणमा २०८२ असोज १ गतेदेखि काठमाडौं उपत्यकाभित्रका तारे होटलहरूमा अनिवार्य रूपमा लागू गरिनेछ। दोस्रो चरणमा मंसिर १ गतेदेखि सबै तारे होटल, विमान कम्पनी, टुर तथा ट्राभल्स कम्पनी, मनी एक्सचेन्ज लगायतका संस्थाहरूमा लागू गरिनेछ र त्यसपछि क्रमशः सबै प्रकारका होटल, गेस्ट हाउस तथा सार्वजनिक र निजी संस्थाहरूमा विस्तार गरिनेछ।
विभागका महानिर्देशक रामचन्द्र तिवारीले नेपाल प्रवेश गर्ने विदेशी नागरिकको गतिविधि राज्यको सूचनामा हुनुपर्ने भएकाले यो प्रणाली लागू गर्न लागिएको बताए। उनले भने, "यो प्रणालीले विदेशी नागरिकको सुरक्षा, उनीहरूलाई आवश्यक परेको बेलामा उद्धार तथा खोज कार्यमा सहयोग पुर्याउनेछ। साथै, विदेशीहरूले भिसाको सर्त र प्रचलित कानुन विपरीत कुनै काम गरेका छन् कि छैनन् भन्ने पत्ता लगाउन पनि यो आवश्यक छ।"
यो प्रणालीले पर्यटकको व्यक्तिगत विवरण जस्तै 'के खाए, कतिबेला सुते' जस्ता कुराहरू नभई, उनीहरूले सेवा लिने संस्थाबाट चेक-इन र चेक-आउटको जानकारी मात्र लिनेछ। महानिर्देशक तिवारीले यो डाटा राज्यले लिने भएकाले यसको दुरुपयोग नहुने स्पष्ट पारे। अध्यागमनले ट्रयाकिङ गर्न लागेको भन्दा बढी विवरण पर्यटकलाई भिसा दिँदा नै विभागसँग हुने उनको भनाइ छ।
विभागले विदेशी नागरिकलाई सेवा दिने सबै सार्वजनिक र निजी संस्थाहरूलाई यो प्रणालीमा अनिवार्य आबद्ध हुन आग्रह गरेको छ। यसको कार्यान्वयनका लागि ७७ वटै जिल्लाका जिल्ला अनुगमन समितिहरूलाई पत्राचार गरिसकिएको र जिल्ला प्रशासन कार्यालयमार्फत नियमित अनुगमन गरिने विभागले जनाएको छ।