arrow

सरकारको इम्बोस्ड अडान

इम्बोस्ड नम्बर प्लेट जडान महँगो र झन्झटिलो [भिडियो]

यातायात व्यवस्था विभागद्धारा सूचना जारी गर्दै १ असोजदेखि सवारी दर्ता, नामसारी र नवीकरण गर्दा अनिवार्य इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्ने व्यवस्था

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ १७ मंगलबार
embossed-number.jpg

काठमाडौँ । सरकारले आगामी १ असोजदेखि सवारी साधनमा अनिवार्य रूपमा इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्ने प्रक्रिया अगाडि बढाएपछि यातायात कार्यालयहरुमा सवारी धनीहरुको भीड बढेको छ । 

यातायात व्यवस्था विभागले सूचना जारी गर्दै १ असोजदेखि सवारी दर्ता, नामसारी र नवीकरण गर्दा अनिवार्य इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्ने व्यवस्था गरेको छ ।

सवारी धनीहरूलाई सम्बन्धित यातायात कार्यालयमा गएर हाइ सेक्युरिटी इम्बोस्ड नम्बर प्लेट जडान गर्न विभागले भनेलगतै सवारी धनीहरु इम्बोस्ड नम्बर प्लेट जडान गर्ने तयारीमा छन् ।

यस्तो नम्बर प्लेट जडानको क्रम बढेता पनि सेवाशुल्क महंगो भएको र प्रक्रिया झन्झटिलो भएको सवारी धनीहरुको भनाइ छ । एउटै झ्यालबाट हुने काम यता र उता दौडनु परेको भन्दै यसलाई व्यवस्थित गर्नुपर्ने उनीहरुको भनाइ छ । 

इम्बोस्ड नम्बर प्लेटका लागि ललितपुरको एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालयमा आवेदन दिन आएका सवारीधनी राजेश तिमिल्सिनाले नम्बर प्लेट राख्ने काम अगाडि बढाइनु राम्रो भए पनि व्यवस्थित नभएको गुनासो गरे ।

उनले सेवा शुल्क मंहगो भएको र प्रक्रिया झन्झटिलो भएको आफूले महसूस गरेको बताए । 

‘यस्तो काम गर्नु राम्रो हो । तर अलिकति सहज तरिका बनाई दिएहुन्थ्यो । यातायात कार्यालयमा आउँदा स्पष्ट जानकारी कसैले नदिने, यता र उता दौडिनुपर्ने अवस्था छ । यसलाई व्यवस्थित गर्नुपर्ने देखिन्छ । सेवा शुल्क पनि धेरै नै महंगो छ । ३२ सय रुपैंयाँ भनेको हाम्रा लागि धेरै महगो हो,’ उनले अगाडि भने,‘यस्तो नम्बर प्लेट चेक गर्ने डिभाइस नहुँदा पनि अनिवार्य गरिएकाले खासै प्रभावकारी होलाजस्तो छैन् ।’

एकान्तकुनामै भेटिएका अर्का सेवाग्राही रामराजा थापाले व्यक्तिगत प्रयोगकर्ताको हिसाबले ठीक भएता पनि सरकारले सुरक्षाको दृष्टिकोणले इम्बोस्ड नम्बर राख्नुपर्छ भनेर ल्याएको कुरा विवादित भएको बताए । 

‘व्यक्तिगत प्रयोगकर्ताको हिसाबले ठिकै हो । सरकारले ल्याएका कुराहरु नागरिकले पालना गर्नुपर्छ । तथापि नौँ बर्षदेखि विवादित रहेको इम्बोस्ड नम्बर हाल झन्झटिलो लागिरहेको छ । तर सबै पूर्वाधार तयार गरेर काम गरेको भए सुरक्षा हिसाबले इम्बोस्ट नम्बर राम्रो हो ।’

उनले आवेदनका लागि धेरै झन्झट भएको, यातायात कार्यालयमा जनशक्ति अभाव भएको बताए । साथै नम्बर प्लेट जडान गरेपछि सवारी साधनहरु सुरक्षाको ग्यारेन्टी हुने भनिएपनि त्यसको विश्वास सरकारले दिलाउनुपर्ने बताए । 

यता, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ अध्यक्ष विजयबहादुर स्वाँरले यातायात व्यवसायीले सरकारले सवारी साधनमा अनिवार्य गरेको इम्बोस्ड नम्बर प्लेटमा देखिएका त्रुटिहरु सच्याउनुपर्ने बताए ।

उनले इम्बोस्ड नम्बर लगाउँदा पुरानो नम्बर प्लेटका आधारमा कर तिर्ने कुरा गैरकानुनी रहेको जानकारी गारउँदै सरकारले गैरकानुनी काम गर्न नहुने बताए । 

उनले यो  वैज्ञानिक टेक्नोलोजी भएकाले पूर्वतयारीको अभाव देखिएसँगै यसको सबै डाटा हेर्नको लागि प्रहरीलाई डिभाइस उपलब्ध गराउनुपर्ने बताए । 

‘यातायात व्यवसायीहरुले सरकारले सवारी साधनमा अनिवार्य गरेको इम्बोस्ड नम्बर प्लेटको विरोध गरिरहेको छैन् । केही त्रुटिहरु सच्याउनुपर्छ भनेका हौँ । इम्बोस्ट नम्बर लगाउँदा पुरानो नम्बर प्लेटका आधारमा कर तिर्ने कुरा गैरकानूनी हो भनेका हौं । सरकारले गैरकानुनी काम गर्नुहुन्न भने हाम्रो कुरा हो । पहिले पूर्वाधार तयार पारेर, त्यसपछि प्लेट ल्याउनुपर्ने हाम्रो भनाइ हो । किनकी इम्बोस्ट नम्बर प्लेटलाई रिड गर्ने त नयाँ टेक्नोलोजीले हो नि । यो वैज्ञानिक टेक्नोलोजी भएकाले पूर्वतयारीको अभाव देखियो । यसको सबै डाटा हेर्नको लागि प्रहरीलाई पनि त सबै डिभाइस उपलब्ध गराउनुपर्यो । त्यसको तयारी नै छैन् । प्लेट लगाउने र  ठेक्कालाई पूरा गर्नका लागि मात्र काम भइरहेको छ । त्यसैले पहिले सरकारी र अर्धसरकारी गाडीहरुमा मात्र परीक्षणका रुपमा गरौं भन्ने हो’, उनले भने  ।

उनले नयाँ आयात भएका गाडीहरुलाई अनिवार्य प्लेट जडान गर्न लगाउने बताएका छन् । उनले डिभाइसहरु प्रहरीलाई उपलब्ध पनि गराँउने भन्दै इम्बोस्टका सवालमा रेटका कुराहरु, लिपि जस्ता उठेका कुराहरु जनसरोकारको विषय रहेको बताए । 

‘अहिले जति गाडी नयाँ आयात भइरहेका छन् त्यसलाई अनिवार्य गर्नुपर्छ । त्यसलाई अनिवार्य गरिसकेपछि प्लेट पनि बन्दै जान्छ । अर्को कुरा भनेको डिभाइसहरु प्रहरीलाई उपलब्ध पनि गराउँदै जानुपर्छ । इम्बोस्टका सवालमा रेटका कुराहरु, लिपिका कुराहरु उठेका छन् । यो जनसरोकारको विषय पनि हो । हाम्रोमात्र कुरा होइन’ उनले भने ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ