काठमाडौँ । प्रधानसेनापति ट्रफी २०८२ खेलकुद प्रतियोगिताको उद्घाटन गरिएको छ । मंगलबार जङ्गी अड्डास्थित खेल मैदानमा प्रधान सेनापति अशोकराज सिग्देलले प्रतियोगिताको उद्घाटन गरे ।
नेपाली सेनाभित्र रहेका प्रतिभावान् खेलाडीको पहिचान गरी उनीहरूको सिप विकास गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडी तयार गर्ने अभिप्रायका साथ विसं २०६५ सालबाट प्रधान सेनापति ट्रफी प्रतियोगिताको सुरुवात भएको हो ।
उद्घाटन समारोहमा प्रधान सेनापति ट्रफीका लागि पृतना तथा बाहिनीका टिमले मार्चपाष्टका साथै विभिन्न खेलसम्बन्धी कला प्रस्तुत गरेका थिए ।
प्रतियोगिताअन्तर्गत मंगलबार सम्पन्न महिला आठ सय मिटर दौड तथा पुरुष एक हजार पाँच सय मिटर दौडका विजेतालाई प्रधान सेनापतिले पुरस्कार वितरण गरेका छन् ।
प्रतियोगितामा एथलेटिक्स, स्विमिङ, बक्सिङ, तेक्वान्दो, जुडो, भलिबल, बास्केटबल र फुटबल खेल सञ्चालन हुनेछन् ।