नेपालले ‘जीएसआई’ मा सहमति जनाएको छैन : परराष्ट्र सचिव
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ १९ बिहिबार
662
Shares
काठमाडौँ। सरकारले चीनको ग्लोबल सेक्युरिटी इनिसियटिभ्स (जीएसआई) मा नेपालले कुनै पनि किसिमको सहमति नगरेको पुनः स्पष्ट पारेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको हालैको चीन भ्रमणका क्रममा नेपालले जीएसआईमा सहमति जनाएको भन्ने खबर निराधार भएको परराष्ट्र सचिव अमृतबहादुर राईले बताएका छन्।
परराष्ट्र सचिव राईले भने, “मुलुकले अवलम्बन गरेको असंलग्न परराष्ट्रनीतिप्रति सरकार पूर्ण रूपमा प्रतिबद्ध छ। परराष्ट्र सम्बन्धजस्ता संवेदनशील विषयमा सत्यता नबुझी टिप्पणी नगर्न सबैमा आग्रह गर्दछु।”
उनले प्रधानमन्त्री ओली र चिनियाँ राष्ट्रपति सी चिनफिङ बीचको भेटवार्तामा ‘ग्लोबल डेभलपमेन्ट इनिसिएटिभ्स’ लगायत द्विपक्षीय, क्षेत्रीय र अन्तर्राष्ट्रिय चासोका विषयमा छलफल भएको जानकारी दिए। जीएसआईमा सहमति जनाएको भनी सार्वजनिक भएका समाचारहरूमा कुनै सत्यता नभएको र त्यस्ता भ्रममा नपर्न सरकारले आग्रह गरेको छ।