arrow

स्वास्थ्य सेवाहरू एकीकृत गर्न आवश्यक : स्वास्थ्यमन्त्री पौडेल

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ १९ बिहिबार
pradeep-poudel-04-081.jpg

काठमाडौँ। स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले मुलुकभर छरिएर रहेका स्वास्थ्य सेवाहरूलाई एकीकृत गर्न जरुरी रहेको बताएका छन्। बिहीबार प्रतिनिधि सभाको बैठकमा सांसदहरूसँगको प्रश्नोत्तर कार्यक्रममा बोल्दै उनले यस्तो धारणा राखेका हुन्।

मन्त्री पौडेलले संघ, प्रदेश र स्थानीय तहबाट सञ्चालित सबै प्रकारका स्वास्थ्य कार्यक्रमहरूलाई स्वास्थ्य बीमा बोर्डमा गाभ्न प्रस्ताव गरे। उनले स्वास्थ्यसम्बन्धी कार्यक्रमहरू छरिएका कारण नागरिकलाई सस्तो, सुलभ र विपन्न वर्गलाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने सरकारको लक्ष्य पूरा हुन नसकेको बताए।

उनले भने, “विभिन्न शीर्षकमा स्वास्थ्य सेवा उपलब्ध गराउने कुराले खर्च धेरै भएको छ, तर त्यसअनुसारको परिणाम आउन सकेको छैन।” त्यसैले स्वास्थ्य प्रणालीलाई एकीकृत गरी प्रभावकारिता बढाउनुपर्ने आवश्यकता औँल्याउँदै उनले स्वास्थ्य बीमा बोर्डलाई केन्द्रीय निकायका रूपमा विकास गर्नुपर्ने बताए।

मन्त्री पौडेलले सामाजिक सुरक्षा कोष र सञ्चय कोषबाट सञ्चालित स्वास्थ्य सुविधासमेत स्वास्थ्य बीमा बोर्डमा गाभ्नुपर्नेमा जोड दिए। यसो गर्न सकेमा सस्तो, सुलभ र नसक्ने नागरिकलाई उपचार सेवा स्वास्थ्य बीमा बोर्डमार्फत उपलब्ध गराउन सकिने उनको भनाइ छ।

मन्त्री पौडेलले मुलुकमा काम गर्ने वातावरण नहुँदा स्वास्थ्य क्षेत्रका जनशक्तिहरू पलायन भइरहेकोमा चिन्ता व्यक्त गरे। सेवा र सुविधाको अभाव तथा काम गर्ने वातावरणको अभावका कारण स्वास्थ्यकर्मी विदेश गइरहेको उल्लेख गर्दै उनले सरकारले यी समस्याको समाधानका लागि उपयुक्त नीति ल्याउनुपर्नेमा जोड दिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ