आदर्श माविमा छेपारो परेको खाजा खुवाइएपछि थुप्रै विद्यार्थी बेहोश [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ १९ बिहिबार
819
Shares
महोत्तरी । महोत्तरीको पिपरा गाउँपालिका वडा नं ६ स्थित आदर्श माध्यमिक विद्यालय रतौलीका थुप्रै विद्यार्थी अस्पताल भर्ना भएका छन् ।
बिहीबार दिउँसो १ बजे विद्यालयमा दिवा खाजा खुवाउने क्रममा विद्यार्थीलाई दिइएको सुजीको हलुवामा मरेको छेपोरो भेटिएको थियो ।
मरेको छेपारोको विभिन्न शरीरका अंग अलग-अलग विद्यार्थीका खाजामा फेला परेपछि विद्यार्थीले खाजा बनाएर दिने विद्यालयका महिला कर्मचारीलाई बताएपछि उल्टै हप्काएको विद्यार्थीको भनाई छ ।
विद्यार्थीले खाजामा छेपारो भेटेको गाउँका व्यक्तिलाई पनि अवगत गराएपछि विद्यार्थीका अभिभावकसहित स्थानीयवासी विद्यालय पुगेका थिए ।
सो क्रममा उनीहरुले प्रधानाध्यापक दिनेश दासमाथि आक्रोश पोख्नुका साथै चप्पल प्रहार गरेका थिए । आक्रोशित अभिभावकले विद्यालयका कुर्सी, टेबुल, ढोका तोडफोड पनि गरेका छन् ।
स्थिति तनावपूर्ण बनेपछि प्रहरी पुगेर स्थिति नियन्त्रणमा लिने प्रयास गरिरहेका छन् ।
यता थुप्रै विद्यार्थी बेहोश हुन थालेपछि अभिभावकले आआफ्ना बच्चालाई प्रादेशिक अस्पताल जनकपुर ल्याएर उपचार गराइरहेका छन् ।