काठमाडौँ । इन्द्रजात्रामा काठमाडौंको मजिपा लाखे आजु (शान्त भैरव) को नृत्य प्रस्तुत गरिएको छ । रातो ख्वापा (मुखौटा) र रंगीन भारी पोशाक लगाएर प्रस्तुत हुने लाखे नेवार लोककथामा बालबालिकाको रक्षक मानिन्छ । नृत्यमा उनले “झ्यालिंचा” भन्ने शरारती पात्रलाई रमाइलो गर्दै पछ्याउने दृश्य हुन्छ।
परम्पराअनुसार लाखे मूलतः राक्षस थिए तर काठमाडौंको मजिपा टोलमा बस्दै देवी तलेजुको आदेशअनुसार बालबालिकाको सुरक्षाकर्ता बन्ने वाचा गरेका थिए । त्यस समयदेखि नै यो नृत्य पुस्तौँपुस्ताले विशेष गरी रञ्जितकार समुदायका पुरुषहरूले निरन्तर गर्दै आएका छन् ।
ख्वापा र पोशाक पूजा गरेर मात्रै प्रयोग गरिन्छ। आजसम्म पनि यो नृत्य काठमाडौँको सांस्कृतिक पहिचान र जीवित सम्पदाको प्रतीक बनेको छ।