रामेछाप। रामेछाप जिल्लामा बुधबार बिहान ६ बजेदेखि दिउँसो १२ बजेसम्मका लागि कर्फ्यू आदेश लम्ब्याइएको छ। जिल्ला प्रशासन कार्यालय रामेछापले जेन-जी आन्दोलनका कारण उत्पन्न संवेदनशील अवस्थालाई मध्यनजर गर्दै यो निर्णय लिएको हो।
प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(क) बमोजिम कर्फ्यूको समय थप गरेको जानकारी दिएका छन्। यसअघि मंगलबार राति १० बजेदेखि बुधबार बिहान ६ बजेसम्मका लागि कर्फ्यू लगाइएको थियो।
कर्फ्यू आदेशअनुसार, मन्थली नगरपालिका-२ को आकासे पुलदेखि दक्षिणतर्फ मन्थली नगरपालिका र रामेछाप नगरपालिकाको सीमास्थित सुकाजोर खोला पुल अर्थात् बिटारसम्मको क्षेत्र पूर्णरूपमा बन्द गरिएको छ।
त्यसैगरी, मन्थली-खुर्कोट सडकखण्ड को सोलमारीस्थित सुकाजोर खोला पुलदेखि मदन आश्रित चोक हुँदै सानीमदौ सीटीईभीटीसम्म आवतजावत रोकिएको छ। मन्थली नगरपालिका-१ का सम्पूर्ण क्षेत्रमा पनि कर्फ्यू जारी गरिएको छ।
यसका साथै, रामेछाप नगरपालिका-८ को भंगेरीदेखि गौरीशंकर माध्यमिक विद्यालय र रामेछाप अस्पतालसम्मको क्षेत्रमा पनि कर्फ्यू लगाइएको छ।
प्रशासनले तोकिएको समय र क्षेत्रभित्र सर्वसाधारणलाई घरबाहिर ननिस्कन आग्रह गर्दै आदेश उल्लंघन गर्नेहरूमाथि कानुनअनुसार कारबाही गरिने चेतावनी दिएको छ। नागरिकलाई संयमित रहन र सुरक्षा निकायलाई सहयोग गर्न समेत अनुरोध गरिएको छ।