भीमफेदी कारागारबाट दुई सय ६० कैदी फरार, गोली लागेर दुई घाइते
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ २५ बुधबार
766
Shares
हेटौँडा । मकवानपुरको क्षेत्रीय कारागार भीमफेदीबाट मध्यरातमा दुई सय ६० जना कैदी भागे गरेका छन् ।
कारागार प्रमुख सुवास पौडेलका अनुसार राति १२ः५५ बजे ‘क’ ब्लकमा रहेका कैदीहरूले तीनवटा गेट तोडेर बाहिर निस्कने प्रयास गरेका थिए ।
त्यही क्रममा उनीहरूले कारागारको पश्चिमपट्टिको पर्खाल भत्काएर भागेका हुन् । सो ब्लकमा पाँच सयभन्दा बढी कैदी रहेकामध्ये करिब दुई सय ३० जनालाई नियन्त्रणमा लिएर पुनः कारागारमा फर्काइएको पौडेलले जानकारी दिए ।
सुरक्षाकर्मी र कैदीबीच करिब चार घण्टासम्म तनावपूर्ण अवस्था कायम भएको थियो। त्यही क्रममा सेनाले चलाएको गोली लागेर दुई जना कैदी घाइते भएका छन् । उनीहरूको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ ।
कारागारको गाडी लिएर भाग्ने क्रममा टायरमा प्रहार गरिएको गोली कैदीलाई लागेको कारागार प्रशासनले जनाएको छ ।
कैदीहरूले कारागार परिसरमा तोडफोड र आगजनीसमेत गरेका थिए। स्थिति नियन्त्रणमा लिन सेनाले करिब दुई सय राउन्ड हवाई फायर गरेको थियो ।
यस्तै, सशस्त्र प्रहरीले पनि दुई राउन्ड हवाई फायर र अश्रुग्यास प्रहार गरेको थियो । कारागारको अर्को ‘ख’ ब्लक भने सुरक्षित रहेको कारागार प्रमुख पौडेलले बताए ।