काठमाडौँ । तस्बिरमा देखिएका यी व्यक्ति डिल्लीबजार कारागारमा कैदी जीवन बिताइरहेका कैदी हुन् । देशभरबाट हजारौँ कैदी कसैलाई भगाएर वा कसैले आफैँ जेल तोडेर वा कसैलाई पत्र दिएरै परिवारको जिम्मा लगाइरहँदा दिल्लीबजार कारागार चारखालका यी कैदी बालकृष्ण लम्सालले भने आक्रोश पोखेका छन् ।
उनले देशभरबाट कैदीहरु कारागारबाट छुटिरहँदा आफूहरु भने छुट्न नपाएको आक्रोश पोखे ।
उनले सञ्चारकर्मीहरूसँग आक्रोश पोख्दै कसैलाई परिवारको जिम्मा लगाउने तर आफूहरुलाई सेना लगाएर बन्दुक तेर्स्याएको आक्रोश पोखे ।
डिल्लीबजारबाट कैदीहरु भाग्न थालेको सूचना पाएपछि सेनाले कब्जामा लिएको छ । यद्यपि मुलुकभरमा हजारौँ कैदीबन्दीहरु भागेका छन् ।
गम्भीर प्रकृतिका अपराधीदेखि लिएर सामान्य प्रकृतिका कैदीबन्दीसमेत गरी मुलुकमा झण्डै तीस हजारको हाराहारीमा कैदीबन्दी जेलमा थिए ।
तर अहिले निकै न्यून संख्यामामात्र कैदीबन्दी जेलमा रहेको अनुमान छ । यद्यपि कारागार व्यवस्थापन विभागले भने कति कैदीबन्दी बाहिर छन् र कति भित्र छन् भन्ने यकिन तथ्याङ्क संकलन गर्न सकेको छैन ।
दिल्लीबजार कारागारमा कैदी जीवन बिताइरहेका लम्सालले कारागारको अवस्था गम्भीर भएको बताएका छन् ।
उनले भने, ‘भित्रको अवस्था गम्भीर छ । एक जना साथीलाई गोली लाग्यो भन्ने छ । क्षतविक्षत छ । बूढाबूढी, केटाकेटी, बिरामीहरु छन् । रवि लामिछानेलाई पत्र काटेर आफ्नी श्रीमतीको जिम्मा लगाउँदा हामी नेपाली जनतालाई भित्र थुनेर आर्मी लगाएर गन तेर्स्याउन मिल्छ ? कारागारभित्र प्रहरीले गोली हान्न मिल्छ । हामी नेपाली जनता हैनौँ ? हामी पनि गर्लफ्रेन्डसँग बसेकालाई बलात्कारी भनेर जेलमा हालेको छ । कैदीको कुरा सुनेर तपाई रुनुहुन्छ ।’
जेन-जीको आन्दोलन चर्किरहँदा देशैभर कैदी बाहिरिएका हुन् ।