आफ्नो जलिरहेको घरको भिडियो राख्दै गभर्नर पौडेलले लेखे हृदयविदारक स्टाटस
हामी शरणार्थी भयौँ, छोरीको यौटा खेलौना थियो, ऊ राति नतर्सियोस् भनेर च्यापेर सुत्न दिन्थ्यौँ, त्यो कुल्चिए र आगो लगाइदिए, कसैलाई मैले दुई पैसा कसैको खाएको या मागेको खबर भए रिपोर्ट गरे हुन्छ
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ २६ बिहिबार
1.7k
Shares
काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले आफ्नो भैँसेपाटीको घर जेन-जी समूहले जलाइदिएपछि निकै हृदयविदारक स्टाटस लेखेका छन् । गत मंगलबार जेन-जीले धेरैको घर जलाउने क्रममा उनको घर पनि जलाइदिएका थिए ।
आफ्नो घर जलेको दुई दिनपछि सामाजिक सञ्जाल फेसबुकमा उक्त भिडियो राख्दै गभर्नर पौडेलले उक्त घर कसरी बनाएकोदेखि आज बिहानसम्मको अवस्था संक्षेपमा र निकै पीडादायी तरिकाले लेखेका छन् ।
उनले आफू एक्कासी शरणार्थी हुनु परेको पीडा पनि पोखेका छन् । उनले आफूले कसैको दुई पैसा खाएर यहाँसम्म आएको नभइ मेहनत गरेरै आएकोसमेत उल्लेख गर्दै कसैलाइ आफूले दुई पैसा कसैको खाएको या मागेको खबर भए रिपोर्ट गर्न पनि सुझाव भनेका छन् ।
यस्तो लेखेका छन् गभर्नर पौडेलले- यो मेरो भैँसेपाटीको घर जल्दै गरेको भिडियो हो । मैले योजना आयोगको उपाध्यक्ष हुनुअघि नै छात्रवृत्ति र देश विदेशमा काम गरेर साढे पाँच आना जग्गामा बनाएको घर हो । श्रीमती र मेरी नौ वर्षकी छोरीलाई यो घर धेरै मन पर्ने भएकाले गभर्नर भएपछि पनि यहीँ बस्थ्यौँ । गाडी पार्क गर्न मिल्ने जमीन पनि नभएको भनेर स्टाफहरुको पहिलो खेपको कमेन्ट आएको थियो ।
भित्र यसको बनावट सुन्दर थियो । माथिल्लो तल्लामा किताबैकिताब, मैले इबे आदिमा किनेका पुराना ऐतिहासिक सामग्री, बिभिन्न देशमा जादा किनेर ल्याएका कलाकृति थिए ।
देविदेवताका मूर्ति, भियतनामी शिल्क पेन्टिङदेखि लिएर माओत्सेतुङ सम्मका मूर्ति थिए । जम्मा ५०० प्रति छपिएको जंगबहादुरको गर्लफ्रेन्ड लौरा बेलको जीवनी पनि त्यहीँ थियो । छोरीको अत्यन्त मन पर्ने कोठा पनि त्यही थियो।
अस्ति यो घर जल्नु दुई घन्टाअघि नै यो घर जलेको खबर एक प्रख्यात अनलाइनमा आयो। मैले बुझ्दा घरमा केही भएको थिएन। पछि भने घर भित्र मानिस गए । बा आमाको फोटो, मेरी छोरीको सानो छँदाको फोटो लात्ताले कुल्चेर फुटाए र सबैमा आगो लगाए । छोरीलाई कपन गुम्बाको गुरु रिम्पोछेले दिनुभएको यौटा खेलौना थियो, ऊ राति नतर्सियोस् भनेर च्यापेर सुत्न दिन्थ्यौँ। त्यो खेलौना पनि कुल्चिए र आगो लगाइदिए ।
राती मेरी छोरी र श्रीमती नजिकको यौटा घर गएर सुते। म परको अर्को ठाउँमा। मेरा साथीहरुलाई थाहा छ, छोरी सुताउनुपर्छ भनेर म सधै चाडै घर आउछु र कतै डिनर खाने गर्दिन। त्यो दिन हामी सबै " शरणार्थी" भयौँ ।किताब र कपडाहरु धेरै भएकोले ढिलो सम्म नै घर जलिरह्यो। राति पनि केहि व्यक्तिले आएर बेलाबेलामा ढुँगा हानेर र सामान चोरेर गैराख्थे भनेर छिमेकीहरुले सुनाए ।
धेरै साथीहरुले मलाई फोन गरेर सोध्दा मैले ठीकै छ भन्ने जवाफ दिएको छु। हिजो राति म भन्दा पनि पीडामा परेका व्यक्तिहरुको बारेमा पढेँ। त्यसैले सबैलाइ सूचना होस् भनेर जल्दै गरेको मेरो घरको भिडियो पोस्ट गरेको छु। अब यसबारेमा अरु छलफल के नै गर्नुपर्ला र।
नयाँ सरकार बन्दै छ। कसैलाई मैले दुई पैसा कसैको खाएको या मागेको खबर भए रिपोर्ट गरे हुन्छ। यो गभर्नरको पद पनि कस्तो अवस्थामा लिएको थिएँ भन्ने सबैलाइ थाहै छ ।