‘मेरो होटलमा आगो लगाएर ४० जनाको रोजगारी खोस्नु जेन-जी क्रान्ति हो ?’
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ २६ बिहिबार
895
Shares
फाइल तस्बिर
काठमाडौँ । जेनजी आन्दोलनका क्रममा एमाले पूर्व सांसद् तथा गायिका कोमल ओलीको दाङस्थित सञ्चालन रहेको होटलमा समेत आगजनी गरिएको छ ।
बिहीबार सामाजिक सञ्जाल फेसबुकमा आगजनी भएको होटल र आफनो घरको फोटो सावर्जनिक गर्दै उनले मेरो होटलमा आगो लगाएर ४० जनाको रोजगारी खोस्नु जेन-जी क्रान्ति हो ? भन्दै प्रश्न गरेकी छन् ।
उनले भनेकी छन्, ‘जेन-जीको क्रान्ति र परिवर्तनको नाममा आएको युवाको उर्जामाथि गर्व गर्छु, तर सोही नाममा अरूले गरेको यो काम के साँच्चै आन्दोलनको हिस्सा हो ? के मेरो घर ध्वस्त पार्नु र होटलमा आगो लगाउनु जेन-जीको क्रान्ति हो ? ४० जना स्थानीयले पाएको रोजगारी खोस्नु परिवर्तनको मार्ग हो ? पानीको सेवा दिईरहेका इसर ट्रक र टाटा योद्धा गाडी जलाउँदा अलिकति हात काँपेनन् ।’
आफू बामे सर्दै गरेको अवस्थामा नियतवश आफ्नो पसिना, आँसु र सपना खरानी बनाइएको आरोप लगाएकी छन् । आफूले सधैँ साथ दिएको उमेर समूह जेन-जीको आन्दोलनको आवरणमा आफ्नो सपना, पसिना र आँशुमाथि जसले यसरी खरानी बनाए, उनीहरुलाई कहिल्यै भलो नहुने उनले बताएकी छन् ।
जेनजीको आन्दोलनका क्रममा शाहदत प्राप्त गर्नुभएका शहीदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली र घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना व्यक्त गर्दै उनले आन्दोलनमा निर्दोषहरुले अनाहकमा ज्यान गुमाउँदा आफ्नो छाती चिरिएको बताएकी छन् ।
‘सेवामूलक सानो होटल सञ्चालन गरेर गाउँलाई रोजगारी दिने, स्थानीय उत्पादनलाई बजारसम्म पुर्याउने, सबैलाई संगसंगै समृद्धिको बाटोमा अघि बढाउने सपना थियो मेरो कोमल होटल खोज्दा । म तुलसीपुरका पाँचतारे होटल वा अन्य होटलसँग प्रतिस्पर्धा गर्ने होइन तर प्राकृतिक सौन्दर्यले गर्दा आम जनताको नजरमा परेका रहेछौं,’ उनले लेखेकी छन्, ‘यो होटल मेरो मात्र नभई गाउँको रगत-पसिनासँग जोडिएको थियो । बीस वर्षअघि रेडियो नेपालमा समाचार वाचन र गीत गाएर कमाएको पारिश्रमिकले किनेको जग्गामा आज मेरो पसिना र ऋणसँगै उभिएको सपना खरानी बनाइयो ।’
आफूले कहिल्यै भ्रष्टाचार नगरेको र उपचार खर्चका नाममा सुविधा नलिएको भन्दै उनले आर्थिक प्रलोभनमा समेत नपरेको बताएकी छन् ।