arrow

जेन-जी आन्दोलनकारी भन्छन्: ‘झोले’हरूले हिंसा फैलाए, हाम्रो माग शान्तिपूर्ण थियो

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ २६ बिहिबार
genz-pusta.jpg

काठमाडौं। जेन-जी आन्दोलनका प्रतिनिधिहरूले आफ्नो आन्दोलन शान्तिपूर्ण रहेको दाबी गर्दै केही ‘झोले’हरू घुसपैठ गरेर हिंसा र आगजनी गरेको आरोप लगाएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएपछि सिर्जना भएको सरकारविहीनताको अवस्थामा उनीहरूले अबको निकासबारे छलफल सुरु गरेका छन्।

जेन-जी प्रतिनिधि अनिल बानियाँले देशमा गणतन्त्र आएदेखि नै नेताहरूले जनतालाई लुटेको र आफ्नो रोजीरोटी खोसेको बताए। उनले दुर्गम क्षेत्रमा सिटामोलसमेत नपाएको अवस्थाप्रति आक्रोश व्यक्त गर्दै बुढापाका नेताहरूबाट आजित भएर देश खोक्रो भइसकेको बताए। ‘हामीले शान्तिपूर्ण आन्दोलनको आह्वान गरेका थियौं,’ उनले भने, ‘तर केही झोले कार्यकर्ताहरू आएर देशका संरचनामाथि आगो लगाएका छन्।’ सिंहदरबार र न्यायलयजस्ता महत्त्वपूर्ण संरचनामाथि षड्यन्त्रपूर्वक आगो लगाइएको उनको आरोप छ।

अर्का प्रतिनिधि दिवाकर ढंगालले नेपाली जनताको सार्वभौमसत्ता, राष्ट्रिय एकता र स्वाभिमानको रक्षाका लागि सबै एकजुट हुनुपर्नेमा जोड दिए। त्यसैगरी, जुनाल गदालले आन्दोलनकारी युवाहरू संयमित हुनुपर्ने बताए। ‘जसरी हिजो हामीले तोडफोड गर्‍यौं, त्यो आक्रोशमा थियो,’ उनले भने, ‘अब हामी संयमित हुन जरुरी छ। आज जेन-जी युवाहरू एक भएनौं भने पुराना दलहरूलाई फाइदा हुने स्थिति छ।’

यस आन्दोलनको नेतृत्वबारे भने जेन-जी प्रतिनिधिहरूको फरक धारणा देखिन्छ। ओजस्वीराज थापाले जेन-जीले अहिले नेतृत्व लिन नसक्ने र लिन पनि नहुने बताए। तर, अभियन्ता पुरुषोत्तम यादवले भने आफूहरूको मुख्य मुद्दा संसद् विघटन रहेको र अन्तरिम सरकारका लागि पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीलाई पूर्ण समर्थन रहेको स्पष्ट पारे।

यता, ‘हामी नेपाल’ का अध्यक्ष सुदन गुरुङले जेन-जीको एक-एक थोपा रगतको बदला लिने चेतावनी दिँदै कोही कसैलाई पनि नछोड्ने बताए। उनले अहिलेसम्म कुनै पार्टीलाई समर्थन नगरेको र सधैँ नेपालको झण्डा बोकेर हिँडेको भन्दै जेन-जी आन्दोलनलाई सबैले समर्थन गर्नुपर्ने आग्रह गरे।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ